
कपिलवस्तु, १३ फागुन । बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक स्तरोन्नति आयोजनाको कामलाई समय मै सकाउन, सरकार निर्माण कम्पनीलाई सघाउन र प्रभावकारी ढङ्गबाट काम अगाडि बढाउन आयोजना क्षेत्र भित्रका केही प्रबुद्ध नागरिकहरुले ‘नागरिक निगरानी समूह’ निर्माण गरेका छन् ।
बाणगङ्गा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको अध्यक्षता शिवराज नगरपालिकाका पूर्वमेयर नेत्रराज अधिकारीले गरेका थिए । भेलामा बुटवल उपमहानगर पालिका, सैनामैना, बाणगङ्गा, बुद्धभूमि र शिवराज नगरपालिकाका प्रबुद्ध नागरिकहरुको उपस्थिति रहेको थियो ।
भेलाले लेखक, समाजसेवी, सेवानिवृत इन्जिनियर छविलाल पाठकको नेतृत्वमा १७ सदस्सीय निगरानी समूह निर्माण गरेको छ । जसको उपाध्यक्षमा बुटवल उपमहानगरपालिकाका वरिष्ठ समाजसेवी व्यवसायी महेन्द्र श्रेष्ठलाई सहसंयोजक र बुद्धभूमिका समाजकर्मी टेकराज पौडेललाई सचिवमा चयन गरेको छ ।

बैठकले बौद्धिक, शालिन र पाका अभियन्ता ऋषि आजादलाई प्रचार संयोजकको जिम्मा प्रदान गरेको थियो । बैठकले समूहमा शिवराज नगरपालिकाका पूर्वमेयर नेत्रराज अधिकारी, बाणगङ्गाका पूर्व उद्योग वाणिज्य संघका अध्यक्ष तथा वरिष्ठ राजनैतिक समाजसेवी दोलकराम घिमिरे, बाणगङ्गाकै समाजसेवी नारायण भुसाल, देविलाल कण्डेल, प्रतापकुमार गिरी चयन गरेको छ ।
यसैगरी, बुद्धभूमिबाट राजेन्द्र सुवेदी, विष्णुप्रसाद पौडेल, हेमराज सुवेदी, बालकृष्ण बेलबासे, उत्तममणी पौडेल रहेका छन् । अन्य सदस्यहरुमा सैनामैना नगरपालिकाका सामाजिक राजनैतिक व्यक्तित्वहरु टिकाराम उप्रेती, कमलराज घिमिरे, मुक्तिनाथ ज्ञवाली, र बुटवल उपमहानगरपालिकाको तर्फबाट पूर्व कर्मचारी रुद्रलाल उपाध्याय र गङ्गा पोख्रेल चुनिएका छन् ।
त्यसैगरी, समूहको सल्लाहकारको रुपमा यस भेगमा रहेका नगरप्रमुख क्रमशः खेलराज पाण्डे, फडिन्द्र शर्मा, चक्रपाणी अर्याल, केशवकुमार श्रेष्ठ र अजय थापालाई चयन गरेको छ । बैठकमा समूहको सम्पर्क कार्यालय कपिलवस्तुको बाणगङ्गामा खोल्ने र आगामी फागुन मसान्त भित्र निर्माण कम्पनी र समूहका बीचमा अन्तरक्रिया कार्यक्रम राख्ने भएको छ ।
पहिलो पटक जनतालाई विकाससँग जोड्ने र आयोजनालाई समय मै सम्पन्न गर्न निगरानी समूह निर्माण भएको हो । नारायणघाट–बुटवल सडकखण्डको हविगतबाट यस आयोजनालाई मुक्त राख्न विकाससँग नागरिक सरोकारलाई जोड्न खोजिएको अभियन्ता टेकराज पौडेलले बताए । समूहले प्रत्यक पालिकास्तरीय निगरानी उपसमूह बनाएर जनताको जनस्वास्थ्य, विकास निर्माण र गुणस्तरीय कामको निगरानी गर्ने उद्देश्य राखेको बताइएको छ ।









प्रतिक्रिया