
काठमाडौं, १३ फागुन । भारतको उडिसा स्थित केआइआइटी कलेजको छात्रबासमा ज्यान गुमाएकी नेपाली विद्यार्थी प्रकृति लम्सालका परिवारसँग नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भेट गरेका छन् ।
भैरहवास्थित घरमा पुगेर शोकमा रहेका प्रकृतिका आमा–बाबु तथा परिवारका सदस्यसँग बस्नेतले भेट गरेका हुन् । प्रकृतिकी आमा सरिता शर्मा लम्साल र बुबा सुनिल लम्सालसँग भेटेर बस्नेतले घटना प्रति दुःख व्यक्त गरे ।
बस्नेत लम्साल परिवारलाई भेट्न गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रकृतिका आमा–बुबासँग फोनमा कुरा गरेका छन् । बस्नेतको फोनबाट कुरा गर्दै प्रधानमन्त्री ओलीले घटना प्रति दुःख व्यक्त गरे ।
प्रधानमन्त्रीले सो घटनाको निष्पक्ष छानबिनको लागि सरकारको तर्फबाट पनि अनुरोध गरिएको र कारबाहीको आवश्यक प्रक्रिया अघि बढिरहेको जानकारी आएको बताए । टेलिफोन वार्तामा प्रकृतिका बुबा सुनिलले आफूहरू सम्हालिन प्रयत्न गरिरहेको प्रधानमन्त्रीलाई जानकारी दिए । सो घटनाको बारेमा अनुसन्धान भइरहेको भन्ने जानकारी आएको लम्सालले प्रधानमन्त्रीलाई बताएका थिए ।
‘पोष्टमार्टम रिपोर्ट पनि आयो, फरेन्सिक रिपोर्ट के भयो अपडेट भइसकेको छैन, विभिन्न चारवटा विषयमा मुद्दा दर्ता हुने भन्ने आएको छ’, उनले भने ।
प्रधानमन्त्री ओलीले सिङ्गो देश लम्सालको साथमा रहेको आश्वासन दिए । ‘भइसकेको कुरा फर्काउन सकिँदैन, नहुनु पर्ने कुरा भयो, छानबिन भइरहेको छ भन्ने मैले थाहा पाएको छु, निष्पक्ष छानबिन होला भन्ने मैले विश्वास लिएको छु’, उनले भने ।
लम्सालले आफ्नो छोरीको ज्यान गइसकेको बताउँदै सो विश्व विद्यालयमा धेरै नेपालीका छोरा–छोरी पढिरहेकाले उनीहरूले त्यो पीडा भोग्नु नपरोस् भन्ने तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री ओलीले सरकारले त्यस विषयमा चासो लिएको र त्यस विषयमा सजग रहेको बताए । ‘हामीले चासो लिएका छौँ, सुरुदेखि नै सार्वजनिक ढङ्गले नै चासो लिएका छैँ, सरकारी हिसाबले पनि लागेका छौँ’, प्रधानमन्त्रीले भने ।















प्रतिक्रिया