
चितवन, ११ फागुन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेस र एमालले देशमा ठुला ठुला परिवर्तन गरेका बताएका छन् ।
प्रेस चौतारी नेपाल वाग्मती प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई आइतबार चितवनमा सम्बोधन गर्दै पोखरेलले २०४६ सालको आन्दोलन वा गणतन्त्र घोषणा गराउने कुरा कांग्रेस र एमालेको सहकार्यले सम्भव भएको बताएका हुन् । ‘नेपालको विशिष्टतामा परिवर्तन र सहकार्यलाई बुझ्नु पर्दछ’, उनले भने ।
नेपालको राजनीतिमा दुईवटा पोल भएका बताउँदै पोखरेलेले एउटा पोलको नेतृत्व एमाले र अर्को पोलको नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ छ । त्यसैले कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भएका उहाँले स्पष्ट पार्नुभयो । ‘हामी स्वतन्त्रतापूर्वक प्रतिस्पर्धा गर्छौँ, कोहीसँग मिलेर होइन एक्लाए एक्लै प्रतिस्पर्धा गर्छौँ’, उनले भने ।
नेपालमा वामपन्थी नामका दक्षिणपन्थीहरू रहेकाले त्यस्ता शक्तिसँग एमालले पार्टी एकता गर्न नसक्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले स्पष्ट पारे । एमाले पार्टीमा आउनेलाई स्वगत गर्ने भए पनि एमाले कोहीसँग मिल्न नजाने उनको भनाइ छ । ‘एमालेमा आउन चाहनेलाई स्वागत गर्दछौँ, वामपन्थी एकता भने सम्भव छैन‘, उनले भने ।
आफूलाई कम्युनिष्ट भन्नेहरू नै एमालेलाई कमजोर बनाउन लागेका बताउँदै उनले एमालेलाई कमजोर बनाउनु भनेको राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र समृद्धिको यात्रालाई कमजोर बनाउनु भएको स्पष्ट पारे । एमालेले बहुमत नल्याउने हो भने देश उँभो नलाग्ने उनको भनाइ छ । यसलाई बुझेर एमालेलाई बलियो बनाउनु पर्ने र पार्टीलाई सुदृढ बनाउन जरा केन्द्रित अभियान सुरु गरिएको पोखरेलले स्पष्ट पारे । विगतको समीक्षा गर्दै आगामी योजना बनाएर एमालेका सबै जनसंगठन अघि बढ्नु पर्ने पोखरेलको धारणा छ ।
एमाले माथि लगाइएका कुनै पनि आरोपमा सत्यता नरहेको दावी गर्दै विगत र भविष्य नभएकाहरू एमालेका विरुद्ध लागेका उनले बताए ।








प्रतिक्रिया