२२ असार २०८३, सोमबार

‘लाज शरणम्’ को सेन्सर पास, पायो ‘युनिभर्सल सर्टिफिकेट’

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’ सेन्सर पास भएको छ ।

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई ‘युनिभर्सल सर्टिफिकेट’दिँदै सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी पास गरेको हो ।

उच्च अदालत पाटनमा मुद्दा परेपछि चलचित्र प्रदर्शन हुने नहुने अन्योलता थियो । पूर्वमन्त्री मोहम्मद अफताब आलमले चलचित्रमा आफ्नो चरित्रलाई तोडमोड गरी प्रस्तुत गरिएको दाबी गर्दै अदालतमा अन्तरिम आदेश माग गरेका थिए । अदालतले चलचित्रको स्क्रिप्ट र श्रव्यदृश्य अध्ययन गर्ने आदेश दिएपछि यसको प्रदर्शन मिति अन्योलमा परेको थियो ।

तर, सेन्सर बोर्डले चलचित्रलाई पास गरेसँगै अब पूर्व निर्धारित मितिमा नै प्रदर्शन हुने पक्का भएको छ ।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’टिमको छ ।

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । ‘सक्किगोनी’टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, हरिष निरौला ‘कक्रोज’, सागर लम्साल ‘बले’ प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजयलामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायत कलाकारको अभिनय रहेको छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

‘लाज शरणम्’ यो वर्षकै प्रतिक्षित मध्येको एक सिनेमा हो । फागुन १४ गते महाशिवरात्रीको दिन यो चलचित्र रिलिज हुनेछ ।