
धरान, १० फागुन । सत्तारुढ दल नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले सरकार ढल्यो भन्दै अफवाह फैलाउनेहरुलाई इंगित गर्दै सरकार दुई पटक ढल्ने ब्यंग्य गरेका छन् ।
धरानमा जारी बिजनेस एक्स्पोको शनिबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले २०८३ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा एक पटक सरकार ढल्छ र अर्को पटक २०८४ मंसिरमा शेरबहादुर देउवाले राजीनामा दिएका बखत यो गठबन्धनको सरकार ढल्ने बताएका हुन् ।
दुई प्रमुख दलहरु एमाले–कांग्रेसलाई खेलेर सत्तामा रमाउने माओवादी दोहोरो चरित्रको अन्त्यका लागि एमाले–कांग्रेस गठबन्धन बनेको एमाले जनसंगठन संयन्त्रका प्रमुख समेत रहेका ढकालले बताए । एमालेलाई धोका दिएर फुत्त कांग्रेससँग टाँसिने र कांग्रेससँग अघाएपछि फेरि एमालेको काँधमा चढ्ने माओवादी प्रवृतिको उपज यो गठबन्धनको सरकार बनेको उनले बताए ।
‘२०८४ को निर्वाचनमा एमाले–कांग्रेस प्रतिद्धन्द्धी हो भन्ने दुवै पार्टीहरुलाई थाहा छ । हामी सिंगल सिंगल प्रतिस्पर्धा गर्छौँ । एमालेले जिते कांग्रेस प्रतिपक्षमा बस्छ, कांग्रेसले जिते एमाले प्रतिपक्षमा बस्छ’ उनले भने । तर यो गठबन्धनलाई सत्तोसरोप गर्ने र आजै ढलिहाल्यो, भोलि ढल्छ भनेर भ्रम फैलाउनुको कुनै तुक नरहेको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ढकालले फेसबुकभरी पानीनै पानी, युटुबभरी पानीनै पानी भएको धरानमा पानीको अभाव भन्दै केही व्यक्ति रित्तो गाग्री बोकेर सिंहदरबार छिरेको भन्दै धराने मेयरको प्रवृतिको आलोचना गरे ।
उनले भने, ‘मैले धरानमा पानी खुवाँए भनेर हल्ला गर्ने अनि धरानलाई पानी दिनु पर्यो भन्दै खाली गाग्री देखाएर तमासा गर्नुको अर्थ छैन् ।’ नेपाल उद्योग व्यवसायी महासंघ धरान नगरले माघ २६ गते प्रारम्भ गरेको बिजनेस एक्स्पोको समापन १५ दिनपछि शनिबार धरान रंगशालामा गरिएको थियो ।









प्रतिक्रिया