
सल्यान, १० फागुन । नेकपा (एमाले)को जरा केन्द्रीत अभियानअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिकामा २१ दिनमै २६ वटा भेला तथा बैठक सम्पन्न भएका छन् ।
गत माघ २० गते पालिका कमिटी बैठक बसेर सुरु भएको अभियानअन्तर्गत २६ वटा भेला तथा बैठक सम्पन्न भएको एमाले कपुरकोटका अध्यक्ष मधुसूदन गिरीले जानकारी दिए । यस अवधिमा १६ वटा टोल भेला, ६ वटा वडास्तरीय भेला र ३ वटा जनवर्गीय संगठनका टोल भेला सम्पन्न गरेर कमिटी पुनर्गठन गरिएको र एउटा पालिका कमिटी बैठक सम्पन्न भएको उनले जनाए ।
वडा र टोल तहमा पार्टी संगठनलाई बलियो बनाउँदै जनताको चासो, गुनासो र आवश्यकतालाई बुझी सम्बोधन गर्ने उद्देश्यसहित एमालेले तीन महिने जरा अभियान सञ्चालन गरिरहेको एमाले कपुरकोटका सचिव रुपक बुढाले जानकारी दिए ।

यस अभियानअन्तर्गत शनिबार कपुरकोट ३ को पाखापानीमा भेला सम्पन्न भएको छ । पार्टीलाई आधारभूत तहदेखि सुदृढ गर्दै जनतासँगको सम्बन्धलाई मजबुत बनाउन सञ्चालन गरेको जरा अभियानअन्तर्गत वडा नम्बर ३ को साविक धनवाङ गाविस–६ पाखापानी टोल भेला सम्पन्न भएको हो । भेलाले नरेन्द्र पुनको अध्यक्षतामा टोल कमिटी पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा देवा खड्का, सचिवमा पदम बुढाथोकी, उपसचिवमा इन्द्रा खड्का र बुद्धि बुढा चयन भएका छन् । सदस्यहरूमा तारासिंह खड्का, जित बहादुर साहु, सरस्वती बुढाथोकी र जगत सेन रहेका छन् ।
यसअघि कपुरकोट वडा नम्बर ३ अन्तर्गत मुलपानी, कपुरकोट, फलाटेमा भेला आयोजना गरी संगठन पुनर्गठन सम्पन्न भइसकेको छ । पाखापानी टोल भेलामा प्रमुख अतिथि एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा कपुरकोट गाउँपालिका इन्चार्ज घनश्याम शर्माले पार्टी संगठनलाई स्थानीयस्तरमै बलियो बनाउँदै जनताको समस्यासँग निकट भएर समाधान खोज्ने अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
जिल्ला कमिटी सदस्य ललिता गिरीले महिला सहभागितालाई प्राथमिकता दिँदै संगठनलाई सशक्त बनाउनुपर्ने बताइन् । पालिका कमिटी अध्यक्ष मधुसूदन गिरीले पार्टीको जरा अभियानले स्थानीयस्तरमा नयाँ उर्जा थपेको बताए । कार्यक्रममा वडा कमिटी अध्यक्ष रुद्रवीर कवर, वडा नम्बर २ का सचिव शन्तसिंह घर्ती, राष्ट्रिय युवा संघ नेपालका हुकुम बुढाथोकी, पार्टीका जेष्ठ सदस्य डण्डबहादुर बुढा लगायतको उल्लेख्य सहभागिता थियो । कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव टिकाराम बुढाथोकीले गरेका थिए ।
यस अभियानअन्तर्गत कपुरकोट गाउँपालिकाका सबै वडा र टोलहरूमा भेला, प्रशिक्षणलगायत पार्टीका गतिविधि निरन्तर सञ्चालन भइरहेका छन् ।









प्रतिक्रिया