
भरतपुर, १० फागुन । नेपाल मोबाइल व्यवसायी महासंघको प्रदेशस्तरीय भेला चितवनको पदमपुरमा सुरु भएको छ ।
चितवन मोबाइल व्यवसायी संघको समन्वयमा शुक्रबार साँझबाट सुरु प्रदेश भेलामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सातै प्रदेशका प्रदेश अध्यक्ष र महासचिव सहभागि छन् । भेलामार्फत प्रदेश नेतृत्वलाई बैठक सञ्चालनसम्बन्धी तालिम प्रदान गरिनेछ ।
यस्तै, भेलामा सातै प्रदेशका मोवाइल व्यवसायीले भोग्दै आइरहेका समस्या तथा चुनौती बारे बृहत् छलफल हुँदैछ । महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले भेलाले व्यवसायीहरुलाई एकीकृत गर्दै व्यवसायीले भोग्दै आएका समस्यालाई निकास दिने सन्दर्भमा पहलकदमी लिने जानकारी दिए ।
भेलामा मोबाइल व्यवसायीले मोबाइल बिक्री गरेबापत प्राप्त गर्दै आएको मार्जिन, चोरीका मोबाइलबाट व्यवसायीले भोग्दै आएका समस्या तथा प्रहरी प्रसाशनबाट व्यवसायीले भोग्दै आएको असहयोगका विषयमा सातै प्रदेशका नेतृत्वले धारणा राखिरहेको उपाध्यक्ष छतेन्द्र आचार्यले जानकारी दिए ।
भेलामा नेपाल जेसिसका तालिम प्रशिक्षक विवेक आनन्द न्यौपानेले बैठक सञ्चालनसम्बन्धी प्रशिक्षण दिएका छन् । भेला चितवन घोषणापत्र जारी गर्दै शनिबार सकिँदैछ ।









प्रतिक्रिया