२७ जेष्ठ २०८३, बुधबार

‘समृद्ध दोलखा, सुखी दोलखाली’ अभियानलाई साकार पार्न एमालेको १२बुँदे सितली घोषणापत्र जारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । नेकपा (एमाले) दोलखाले ‘समृद्ध दोलखा, सुखी दोलखाली’को आकाङ्क्षा पूरा गर्न र पार्टीको जरा केन्द्रित अभियानलाई व्यवस्थित गर्न जिल्लाको सितलीमा कार्यशाला गोष्ठी गरी सितली घोषणा जारी गरेको छ ।

एमाले दोलखका उपाध्यक्ष एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र मानन्धरका अनुसार पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षता तथा पार्टी पोलिटब्युरो सदस्य पार्वत गुरुङको प्रमुख आतिथ्यतामा दुई दिनसम्म सञ्चालन भएको कार्यशालाले १२बुँदे सितली घोषणापत्र जारी गरेको छ ।

कार्यशालाले सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत रहेका एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहाल र पूर्वमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङ, बागमती प्रदेश सभा सदस्य भरतबहादुर केसीसहितको टोलीले दोलखा जिल्ला भ्रमण गरी दोलखाको विकासका विभिन्न सवालमा जानकारी लिएकोमा धन्यवाद दिएको छ । भौतिक पूर्वाधार यातायातमन्त्री दाहालले दोलखाली नागरिकहरूका समृद्धिको ढोका उत्तर–दक्षिण लोकमार्गअन्तर्गत लामाबगर नाका खोल्न र वैकल्पिक राजमार्ग किर्ने, भोर्ले, ढोलिखोला सडकलगायत अन्य महत्त्वपूर्ण सडकहरूमा समेत गरी करिब डेढ अर्ब बजेट विनियोजन गरेकोमा कार्यशालाले कृतज्ञता व्यक्त गरेको छ ।

एमालेको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको उल्लेख गदै कार्यशालाले ‘समृद्ध दोलखा, सुखी दोलखाली’ अभियानलाई जिल्लाको आकाङ्क्षा बनाउँदै एमालेले जिल्लामा निरन्तर विकास र समृद्धिका लागि काम गरिरहेको निष्कर्ष निकालेको छ । २०५४ सालमा एमालेको नेतृत्वमा बनेको जिल्ला विकासको खाका र चक्रपथ योजना, २०७४–०७९ मा भएका स्थानीय सरकारको अवधारणा र योगदानका आधारमा समृद्ध दोलखा, सुखी दोलखालीको रोडम्याप बन्दै आएको कार्यशालाले ठहर गरेको छ । कार्यशालाले जिल्लाको द्रुत विकास र परिवर्तनका लागि थप पहल कदमी थाल्ने प्रतिबद्धता जाहेर गरेको छ ।

एमाले दोलखाको ५औं पूर्ण बैठकले जारी गरेका १० बुँदे प्रतिबद्धताहरू दोलखा विकास र समृद्धिका साझा अवधारणा र विकृति, विसङ्गति अन्त्य गर्ने औजार भएकाले यसलाई जनस्तरसम्म छलफलको विषय बनाइने निर्णय कार्यशालाले गरेको छ । एमालेको १० बुँदे प्रस्तावलाई साझा बनाउन दोलखाका राजनीतिक दल, नागरिक समाज, उद्योग व्यवसायी, पत्रकारलगायत विभिन्न निकायहरूबिच सहकार्य गर्दै कार्यान्वयनका लागि एमाले पोलिटब्युरो सदस्य, दोलखा जिल्ला इन्चार्ज पार्वत गुरुङको नेतृत्वमा सुरु भएको अभियानमा सबै पार्टी पङ्क्ति सामेल हुने कार्यशालाले प्रतिबद्धता गरेको छ ।

एमालेको ३ महिने जरा केन्द्रित अभियान सफल बनाउन जनतासँग भेटघाट अभियानको कार्ययोजना कार्यशालाले बनाएको छ । पार्टीबाट तय गरिएका कार्ययोजनालाई जनताका आवश्यकता, अपेक्षा र समस्याहरू समाधानका दृष्टिबाट पार्टीका आन्तरिक र बाहिरी पक्षसँग सहकार्य गर्दै जरा अभियानलाई दोलखामा प्रभावकारी र रचनात्मक ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता कार्यशालाले गरेको छ । अभियानको महत्त्वपूर्ण पाटोको रूपमा रहेको पार्टी सदस्यता विस्तार अभियानलाई सफल पार्न कार्यशालाले अनुरोध गरेको छ ।

एमालेलाई राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्दै समृद्धि र विकासको अभियानमा सामेल गराउन सुरु गरिएको पार्टी प्रवेश अभियानको क्रममा पार्टी छाडेर अन्य पार्टीमा भएकाहरूलाई पुनः घर फर्कन कार्यशालाले आह्वान गरेको छ ।

ग्रामीण भेगमा बाँदरलगायत हानिकारक वन्यजन्तुले कृषकहरूको उत्पादनमा पुर्‍याएको उल्लेख गर्दै त्यसको समाधान गर्न सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै पहल थालेकोमा कार्यशालाले धन्यवाद दिएको छ । मानव विस्थापित भई उजाडिँदै गएको गाउँवस्तीलाई पुनः स्थापित गर्न विकास र समृद्धिका उपायहरू खोजी गर्दै मानव पलायन र बसाइसराइ रोक्नका लागि तीनै तहका सरकारहरूलाई अभियान सञ्चालन गर्न कार्यशालाले अनुरोध गरेको छ ।

दोलखाको विगु गाउँपालिकामा पालिका अध्यक्षको गैरजिम्मेवार कार्यशैलीका कारण विकास निर्माण ठप्प भएको, पुरानो भुक्तानी, सामाजिक सुरक्षा भत्ता, दीर्घ रोगीहरूलाई औषधी वितरण कार्य, स्थानीय सरकारबाट दिनु पर्ने सेवा सुविधा लगायत सम्पूर्ण प्रशासनिक कार्यहरू रोकिएकाले जनतालाई प्रत्यक्ष असर परिरहेको अवस्थाप्रति ध्यानाकर्षण भएको एमालेले जनाएको छ । त्यस पालिकामा उत्पन्न गम्भीर समस्याबारे राजनीतिक दल, जनप्रतिनिधि, शिक्षक प्रतिनिधिको तर्फबाट विभिन्न निकायमा ध्यानाकर्षण गराउँदा पनि बेवास्ता भएकोले उल्लेख गर्दै कार्यशालाले पालिकाको समस्या समाधान गर्न ध्यानाकर्षण गराएको छ ।

देशको विकास र समृद्धिका लागि संसदमा पेश भएका विधेयकको स्वागत गर्दै कार्यशालाले ती अध्यादेश संसदबाट तत्काल पारित गर्न माग गरेको छ ।

पर्यटन मार्फत समृद्धिको ढोका खोल्ने उद्देश्यले आयोजना गरिएको जिरी भ्रमण वर्ष २०२५ सफल पार्न एमालेका सबै तहले साथ सहयोग गर्ने प्रतिबद्धता कार्यशालाले गरेको छ । साथै, दोलखाको समग्र विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको दोलखा महोत्सव २०८१ को लक्ष्य पूरा होस् भन्ने शुभकामना व्यक्त गरिएको छ । बैठकले सितली कार्यशाला गोष्ठी आयोजना गर्न सहयोग गर्ने एमाले, मेलुङ गाउँपालिका कमिटीलाई कार्यशालाले धन्यवाद दिएको छ ।