२४ असार २०८३, बुधबार

एभरेष्ट बैंकको १३०औं शाखा फिदिम र फुङ्लिङ्गमा १३१औं शाखा सञ्चालन

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ बिहीबार फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औं र शुक्रबार फुङ्लिङ्ग नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१औं शाखाको औपचारिक उद्धघाटन गरेको छ ।

फिदिम र फुङ्लिङ्गमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ । एभरेष्ट बैंकका शाखाहरुको उद्घाटनसँगै यस स्थानका स्थानीय उपभोक्ताले राष्ट्रियस्तरको अत्याधुनिक बैंकिङ्ग सेवाहरू प्राप्त गर्ने भएका छन् ।

फिदिम र फुङ्लिङ्ग शाखाको उद्धघाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र कोशी प्रदेशका प्रमुख सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र फुङ्लिङ्ग शाखामा फुङ्लिङ्ग नगरपालिकाका प्रमुख अमिर मादेनलगायत सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरुलगायत स्थानीयबासीको उत्साहजनक उपस्थितिका बीच औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।

फिदिम र फुङ्लिङ्गमा आफ्नो १३०औं र १३१औं शाखा सञ्चालन गरेसँगै अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै, आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तिय पहुँचबाट बाहिर रहेका अन्य स्थनमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेको र देशैभरी १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटिएम छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ.।