
वीरगञ्ज, ८ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जमा रहेका दुई क्यासिनोमा पुगेर छड्के अनुगमन गरेका छन् । वीरगञ्जको होटल दियालो लड्र्समा सञ्चालित किङ्ग्स क्यासिनो र होटल सुरजमा सञ्चालित फर्चुन सिटी क्यासिनोमा अनुगमन गरेका हुन् ।
नेपालमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई जुवा खेल्न प्रवेश निषेध रहेको छ । तर यहाँको क्यासिनोमा नेपाली नागरिकहरूले समेत जुवातास खेलेर गम्भीर सामाजिक, आर्थिक र मनोवैज्ञानिक संकटमा परिरहेका र पछिल्लोपटक एक नेपालीले ४० लाख रुपैयाँ गुमाएको खबर पाएपछि मुख्यमन्त्री सिंहले क्यासिनो अनुगमन गरेको प्रेस संयोजक मनोज मोरबैताले बताए ।
उनका अनुसार क्यासिनोबाट एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाइएको हो । पछिल्लो एक महिनाको ग्राहकको इन्ट्री विवरण, सिसिटिभी क्यामेराको फुटेज, ग्राहकको विवरण लगायतका कागजात मुख्यमन्त्री कार्यालयमा पेस गर्न निर्देशन दिइएको उनले जानकारी दिए ।
मुख्यमन्त्री सिंहले पत्रकारहरूसँग कुरा गर्दै वीरगञ्जमा अस्पताल अनुगमन गर्न आएका बेला क्यासिनोको पनि छड्के अनुगमन गरिएको बताए । उनले सुरक्षालगायतका दृष्टिले क्यासिनो अत्यन्त संवेदनशील ठाउँ भए पनि तिनको व्यवस्थापकीय पक्ष सन्तोषजनक नभएको बताए । वीरगञ्जमा हालः कूल चारवटा होटलमा क्यासिनो सञ्चालनमा रहेका छन् ।








प्रतिक्रिया