२९ असार २०८३, सोमबार

सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गरेर पर्यटकीय राजमार्ग बनाउँछौँ : अर्थमन्त्री पौडेल

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, ३ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धार्थ राजमार्गको स्तरोन्नति गरिने बताएका छन् । शुक्रबार स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यो राजमार्गलाई पर्यटकीय मार्गको रूपमा विकास गरिने बताएका हुन् ।

बाइरोडपछिको देशकै पुरानो सिद्धार्थ राजमार्गलाई वर्तमान आवश्यकता अनुरूप स्तरोन्नति हुने अर्थमन्त्री पौडेलले बताए । स्तरोन्नति पश्चात पोखरादेखि बुटवलसम्मको दूरी करिब डेढ घण्टामा पूरा गर्न सकिने उनले बताए । यसले राजमार्ग वरपरका क्षेत्रमा पर्यटकीय केन्द्रहरूको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

स्याङ्जाको विकास सम्भावनाबारे बोल्दै मन्त्री पौडेलले हिमाल र तराईको बीचमा अवस्थित यस जिल्लाको भविष्य उज्ज्वल रहेको बताए । आँधीखोला र कालीगण्डकी किनारलगायतका उर्वर फाँटहरू तथा पोखरासँगको नजिकताले यहाँको विकासमा थप योगदान पुर्‍याउने मन्त्री पौडेलको भनाइ थियो ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्याङ्जासँगको विशेष सम्बन्धको पनि चर्चा गरे । राजतन्त्र अन्त्य र गणतन्त्र प्राप्तिको आन्दोलनका क्रममा अध्यक्ष ओलीले स्याङ्जाको आँधीखोला जेलमा बिताएको समयमा यस क्षेत्रको प्राकृतिक सौन्दर्य र विशेषताहरूलाई नजिकबाट बुझ्ने अवसर पाएको पौडेलले स्मरण गराए ।

अर्थमन्त्री पौडेलले स्याङ्जाको समग्र विकासका लागि थप व्यवस्थापकीय कार्यहरू गर्नुपर्ने आवश्यकता औंल्याउँदै यहाँका अनगिन्ती विकास सम्भावनाहरूलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने बताए ।