२४ जेष्ठ २०८३, आइतबार

कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २७ माघ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका–२ मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–६ छुसाङको नर्सिङखोला र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा ३१ करोड ७८ लाख रुपैयाँको लागतमा मोटरेबल पुल निर्माण गरेको हो ।

आयोजनाका प्रमुख धु्रवकुमार झाले तीनवटै पुलको संरचना र पहुँचमार्ग निर्माण सकेर सवारीसाधन सञ्चालन हुन थालेका जानकारी दिए । उनका अनुसार मार्फाखोलामा एक सय २० र छुसाङको नर्सिङखोलामा ९० मिटर लामो मोटरेबल पुल निर्माणका लागि छ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले २१ करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

चराङखोलामा ८० मिटर लामो मोटरेबल पुल निर्माणका लागि विसं २०७५ असार २९ गते १० करोड १८ लाख रुपैयाँमा काष्ठमाण्डप निर्माण सेवाले ठेक्का लिएको थियो । पक्की पुल सञ्चालन भएपछि काठको मुडा राखिएको कच्ची र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल विष्ट (राजु)ले बताए ।

पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडकअन्तर्गत २४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ वटा निर्माण सकिएको, दुई वटा निर्माणाधीन, पाँच वटाको ठेक्का तोडेको र पाँच वटा पुल निर्माणको प्रक्रियामा छन् । विसं २०७३/०७४ देखि सुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।