
–अन्जनी कुमार अधिकारी
उदयपुर, २३ माघ । उदयपुरको चौदण्डीगढी नगरपालिकाले सञ्चालन गरेको १० दिने निःशुल्क आँखा शिविरमा २१ सय ८ जना वृद्धवृद्धाले लिए सेवा लिएका छन् ।
चौदण्डीगढी नगरपालिका तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा गत माघ १२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन भएको निःशुल्क शिविर पालिकाको प्रत्येक वडामा सञ्चालन गरिएको थियो भने छिमेकी पालिका बेलका नगरपालिकाको वडा नम्बर २ र ४ मा समेत आयोजना गरिएको थियो ।
शिविरबाट ३ सय ११ जना मोतियाबिन्दुका बिरामीको छनोट गरिएको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले बताए । उनीहरुको नगरकै वडा नम्बर ६ सातधारेमा रहेको कोभिड अस्पतालमा निःशुल्क अप्रेसन गर्न थालिएको छ । अप्रेसन माघ २३, २४ र २५ गरी तीन दिन सञ्चालन हुनेछ । शिविरमा बिरामीहरुको लागि आवश्यक चस्मा (पावर चस्मा) न्यूनतम मुल्यमा उपलब्ध गराइने समेत बताइएको छ । गाउँगाउँमै निःशुल्क आँखाको शिविर सञ्चालन र मोतियाबिन्दुका बिरामीको अप्रेसन आफ्नै ठाउँमा हुँदा आफूहरु निकै खुशी भएको बिरामीको भनाई छ ।
चौदण्डीगढी नगरपालिकाले पछिल्लो समय हरेक वर्ष तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंसँगको संयुक्त आयोजनामा निशुल्क आँखाको शिविर सञ्चालन गर्दै आएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा २२ सय ३५ जनाको निःशुल्क आँखाको जाँच गरेको थियो भने त्यस शिविरबाट २७३ जना मोतियाबिन्दुका बिरामीको छनोट र २२५ जनाको निःशुल्क अप्रेसन गरिएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा २६ सय जनाको निःशुल्क आँखाको जाँच गरिएको थियो । जसमध्ये ४ सय ९२ जना मोतियाबिन्दुका बिरामीको छनोट गरेकोमा ३ सय १९ जनाको निःशुल्क अप्रेसन गरिएको थियो ।
आँखा मानिसको संसार भएको भन्दै चौदण्डीगढीका मेयर लामाले वृद्धवृद्धाहरुले बुढेसकालमा आँखा नदेख्दा समस्या हुने भएकाले आफूहरुले वृद्धवृद्धा लक्षित शिविर सञ्चालन गरिएको बताए । उनले आफ्नो कार्यकालभरि यस्तो शिविर हरेक वर्ष सञ्चालन गरिने समेत बताए ।








प्रतिक्रिया