
रामेछाप, १८ माघ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र कांग्रेसलाई मिलाइदिएको बताएका छन् । एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै ज्ञवालीले प्रचण्डको अवसरवादी चरित्रको कारण कांग्रेस र एमाले एक ठाउँमा उभिने वातावरण बनेको बताएका हुन् ।
प्रचण्डको धोका र अस्थिरतामा खेल्ने प्रवृत्तिबाट दिक्क भएका कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेलाई सरकारको नेतृत्व लिन आग्रह गरेको उहाँको भनाइ छ । ‘कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्षलाई तपाईँ प्रधानमन्त्री बनिदिनुस् भन्ने अवस्था प्रचण्डकै कारण सिर्जना भयो, कांग्रेस सभापति शेरबहादुर देउवा आफैँ एमाले अध्यक्ष केप ओलीको घरमा गएर दुई वर्षको लागि प्रधानमन्त्री बनिदिनुस् भनेर भनेपछि हाम्रो अध्यक्ष प्रधानमन्त्री बन्न तयार हुनुभएको हो’, उनले भने ।
देशको राजनीतिक अस्थिरता अन्त्य गर्नको लागि एमाले सरकारमा गएको उनले बताए । ‘ राष्ट्रिय दल समेत बन्ने नसकेर जम्मा १० सिट ल्याएका माधव नेपाल समेत प्रधानमन्त्री हुने लाइनमा बसेपछि स्थिर सरकार बनाउन एमाले सरकारमा जानु पर्ने स्थिति आयो’, उनले भने ।
ज्ञवालीले अहिले एमाले र कांग्रेसको संयुक्त सरकार भए पनि कांग्रेसलाई हेर्ने एमालेको प्रष्ट दृष्टिकोण भएको बताए । कांग्रेस र एमालेको सरकार देशको परिस्थितिको बाध्यात्मक बाटो भएको उनको धारणा छ । ‘एमाले र कांग्रेस फरक बिचार बोक्ने राजनीतिक दल हुन्, कांग्रेस पुँजीवादीको पार्टी हो, एमाले समाजवादी पार्टी हो, निर्वाचनमा एमाले र कांग्रेस प्रतिस्पर्धी शक्ति हुन् भन्ने कुरा एमाले र कांग्रेसका नेताहरूले स्पष्ट रूपमा बुझेको छन्, हाम्रो प्रतिस्पर्धी कांग्रेस नै हो, यसलाई हामीले बिर्सनु हुँदैन’, उनले भने ।
अहिले देशको आर्थिक क्षेत्र निक्कै कमजोर भएको बताउँदै ज्ञवालीले त्यसको सुधारको लागि काम गरिरहेको धारणा राखे । धेरै ठुलो काम गर्न नसकिए पनि जनताले अनुभूत गर्ने गरी आर्थिक, सामाजिक क्षेत्र र कानुन निर्माणको क्षेत्रमा केही न केही काम हुने उनको भनाइ छ ।
सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनि विरोधीले प्रचार गरिरहेका भए पनि अहिलेको सरकार राजनीतिक रूपमा बलियो सरकार भएको उनले बताए । ‘भरपर्दो अर्को विकल्प पनि छैन, त्यसैले यो सरकार आउने निर्वाचनसम्म टिक्छ, टिकाउने मात्र होइन, राम्रो काम गर्दै जाने हो’, उहाँले भन्नुभयो ।
कांग्रेस र एमाले मिलेर अहिले सरका बनाएको बताउँदै यस्तो अवस्थामा पनि विरोधीको आक्रमणको निशाना एमाले र एमाले अध्यक्ष केपी ओली माथि मात्र भएको उनले बताए । एमाले अध्यक्ष केपी ओलीको कमजोरी फेला पारेको भए विरोधीले बाँकी नराख्ने बताउँदै उनले उनका कुनै कमजोरी फेला पार्न नसकेका कारण उनको विरुद्ध भ्रामक प्रचार भइरहेको उनको भनाइ छ ।
ज्ञवालीले अन्तराष्ट्रिय सन्दर्भमा भूराजनीतिक अवस्था नेपालको लागि केही जटिल बन्दै गएको बताए । दक्षिणको भारतमा पुँजीवादी शासन व्यवस्था र उत्तरको चीनमा समाजवादी शासन व्यवस्था भएकोले दुई देशबीचमा रहेको नेपाललाई सन्तुलन कायम गर्ने कुरा निक्कै जटिल भएको ज्ञवालीको धारणा छ ।
चीन विश्वको एक नम्बरको आर्थिक शक्ति मात्र होइन विज्ञान प्रविधि लगायतको क्षेत्रमा पनि एक नं शक्ति बन्ने गरी अघि बढेको उनले बताए । ‘अब केही वर्षमा चीन विश्वको पहिलो, अमेरिका दोस्रो र भारत तेस्रो शक्ति बन्ने स्थिति बन्दै गएको छ’, उनले भने । ‘नेपाल जस्तो देशले यस्ता शक्तिसँग कसरी समान सम्बन्ध कायम गर्ने कुरा निक्कै चुनौतीपूर्ण छ’, उनले भने ।








प्रतिक्रिया