३० असार २०८३, मंगलबार

सभापति कप : सहिद गेटमा ट्रफी अनावरण गरिँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिने भएको छ ।

माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा संकटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् ।

आयोजक महाधिवेशन निर्देशन समितिले आज सहिद दिवसको अवसरमा एक कार्यक्रमका बीचमा सहिद गेटमा ट्रफी अनावरण गर्ने जनाएको छ ।

समितिका संयोजक मोहन बस्नेतले भने, ‘नेपाली कांग्रेसले सदैव सहिदहरूको सम्मान गर्दै आएको बताउँदै प्रतियोगिताको ट्रफी पनि सहिद गेटमा अनावरण गर्न लागेका हौँ ।’ ट्रफी सार्वजनिक गर्नुअघि कांग्रेसका युवाहरूको सहभागितामा मोटरसाइकल र्‍यालीको पनि आयोजना गरिएको छ ।

तीनकुनेबाट सुरु हुने मोटरसाइकल र्‍याली एयरपोर्ट–गौशाला–रातो पुल–कमलपोखरी–दरबारमार्ग हुँदै सहिद गेटमा हुने ट्रफी अनावरण कार्यक्रममा सहभागी हुनेछ । त्यहाँ छोटो कार्यक्रमपछि फाइनल पुगेका दुवै टिमका कोच र कप्तानका बीचमा प्रि म्याच कन्फ्रेन्स भने दशरथ रंगशालामा रहेको मिडिया सेन्टरमा गरिने प्रचार प्रसार समितिका संयोजक दामोदर अर्यालले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । प्रतियोगिताको विजेताले नगदै २६ लाख र उपविजेताले नगदै १३ लाख प्राप्त गर्नेछ ।

यसैगरी, दैनिक प्लेयर अफ दी म्याचले १५ हजार पाउँदै आएका छन् भने प्रतियोगिताको फाइनल पछि सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।

फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । क्वाटर फाइनल र सेमिफाइनलसम्म एक सय रुपैयाँ र दुई सय रुपैयाँ तोकिएकोमा फाइनल खेलका लागि साधारणतर्फ २ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ तोकिएको छ ।