
काठमाडौं, १४ माघ । नेपाल मर्चेन्ट बैंकर्स संघ र एसोसिएसन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई)बीच सोमबार लगानी व्यवसायीहरूबीच पारस्परिक सहयोग र सहकार्यसम्बन्धी साझेदारी सम्झौता सम्पन्न भएको छ । भारतको मुम्बईस्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजित एसोसिएसन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई)कोे १३ औं वार्षिक सम्मेलनमा सम्झौता सम्पन्न भएको हो ।
नेपाल मर्चेन्ट बैंकर्स संघका तर्फबाट अध्यक्ष रामेन्द्र रायमाझी र एआईबीआइका तर्फबाट अध्यक्ष महावीर लुनावतले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
नेपाल मर्चेन्ट बैंकर्स संघ र एसोसिएसन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डियाबीच सम्पन्न सम्झौता अनुसार भारत र नेपालका मर्चेन्ट बैंकरहरुबीच सीप विकास तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने, नैतिक मापदण्डहरु कायम गर्ने, व्यावसायिक विकास सँगसँगै नियामक निकायहरु सँगको समन्वयलाई बढावा दिन र सूचना तथा प्रविधिको विकासमा पारस्परिक सहयोग र सहकार्य प्रदान गर्ने समझदारी भएको छ । लगानीका नविनतम प्रविधिको प्रयोगबाट क्षमता अभिवृद्धिसहित व्यावसायीक विकास र विस्तारमा दुई एसोसिएसनहरु बीच भएको यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास संघले लिएको छ ।

एसोसिएसन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई)को मुम्बई बान्द्रा कुर्ला कम्प्लेक्सस्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजित १३औं वार्षिक सम्मेलनमा सम्झौतामा हस्ताक्षर गर्दा एसईबीआईका अध्यक्ष माधबी पुरी बुच, एआईबीआईका अध्यक्ष महावीर लुनावत, सेबीका पूर्णकालिन सदस्य अश्वनी भाटिया, सेबीका कार्यकारी निर्देशक मनोज कुमार, एनएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिषकुमार चौहान र बीएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुन्दररमण आरको उपस्थिति रहेको थियो भने नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजयलाल श्रेष्ठ, उपाध्यक्ष मनिष नारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्तबहादुर पाण्डे, सदस्यहरु लेखनाथ पोख्रेल र सन्दिप कार्कीको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया