३ श्रावण २०८३, आइतबार

नारदमुनि गोल्डकप भोलिदेखि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, १४ माघ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसाहामा आयोजना हुँदै आएको नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिताको दशौं संस्करण भोलि मंगलबारदेखि सुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले गर्नेछन् ।

स्थानीय बसाहा क्लबको आयोजनामा हुने प्रतियोगितामा आठ टिम सहभागि हुने भएका छन् । प्रतियोगिता चौदण्डीगढी४ बसाहा बर्खेडाँडास्थित नारदमुनि थुलुङ्ग रंगशालामा हुने बसाहा क्लबका अध्यक्ष गौतम राईले जानकारी दिए ।

अध्यक्ष राईका अनुसार मंगलबार हुने उद्घाटन खेलमा संकटा एफसी काठमाडौं र बागमती युवा क्लब सर्लाही बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा आयोजक बसाहा क्लब र झापा ११ फुटबल क्लब झापा आमनेसामने हुने छन् ।

प्रतियोगिताको तेस्रो खेलमा सलहेस युवा क्लब सिराहा र एलएक्स सिटी क्लब मोरङ बीच प्रतिस्पर्धा हुँदा चौथो खेलमा न्यु त्रियुगा स्पोर्टस् क्लब फत्तेपुर सप्तरीसँग सुनसरीको एभरेष्ट फुटबल क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

माघ १९ र २० गते सेमिफाइनल हुने प्रतियोगिताको फाइनल २२ गते हुनेछ ।

उपाधि विजेता टोलीले ५ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिताको उपविजेताले २ लाख २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउँदा म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने क्लबका प्रमुख सल्लाहाकार शेखर राईले जानकारी दिए ।

प्रतियोगिताका बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर, वेस्ट किपर र उदीयमान खेलाडीसहित सात विधागत उपाधि विजेता खेलाडीलाई पनि जनही ५ हजार नगदसहित कप र मेडल प्रदान गरिनेछ ।

४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताबाट ६० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको आयोजक बसाहा क्लबले जनाएको छ । २००७ सालका प्रजातान्त्रिक क्रान्ति योद्धा नारदमुनि थुलुङ्ग राईको स्मृतिमा बसाहा क्लबले विगत डेढ दशकदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ ।

उदयपुरको साविक बसाहा गाविस हालको चौदण्डीगढी नगरपालिका बसाहामा स्वर्गीय नारदमुनि थुलुङको नामबाट नारद आदर्श शिक्षा क्याम्पस, नारद आदर्श माध्यमिक विद्यालय, नारदमुनि रंगशाला नामकरण गरिएको छ ।

असोज १७ गतेदेखि हुने भनिएको यसपटकको दशौं संस्करणको गोल्डकप विविध प्राविधिक कारणले ४ महिनापछि सरेको हो । यद्यपि प्रतियोगिताको समापन नारदमुनि थुलुङ राईको स्मृतिको दिन गरिने गरी प्रतियोगिता आयोजना गरिएको छ ।