२१ जेष्ठ २०८३, बिहिबार

केही गर्छु भन्नेलाई नेपालमा अवसर नै अवसर छ : शंकर पोखरेल

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालका केही गर्छु भन्ने लाई अवसर नै अवसर भएको बताएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालद्वारा आयोजित संगठनमा प्रवेश गर्नेको स्वागत कार्यक्रम कार्यक्रमलाई शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालमा अवसर छैन भन्ने कुरा नै गलत भएको बताएका हुन् ।

‘जहाँ विकास भइसकेको हुँदैन, त्यहाँ सम्भावना ज्यादा हुन्छ, जहाँ विकास सम्भावना छन्, त्यहाँ केही गर्न चाहनेका लागि अवसरहरू पनि छन्’, उनले भने ।

नेपालमा स्वास्थ्य क्षेत्रका उत्पादित ८० प्रतिशत जनशक्ति विदेश जानु विडम्बनाको कुरा भएको उनको भनाइ छ । देशमा जनशक्ति कम भइरहेको अवस्थामा पनि दक्ष जनशक्ति बिदेसिने क्रम चलिरहेकोले त्यसलाई रोक्नु पर्नेमा महासचिवले जोड दिए । कार्यक्रममा बोल्दै पोखरेलले स्वास्थ्य क्षेत्र प्रभाकारी हुँदा मात्र राष्ट्र समृद्ध बन्ने बताए ।

स्वास्थ्य क्षेत्र कमजोर भयो भने सामाजिक सूचकका दृष्टिले देशलाई समृद्ध र सुखी मुलुक भन्न नसकिने पोखरेलले प्रष्ट पारे । अहिले पनि नेपालीको ठुलो सङ्ख्या उपचारको लागि देश बाहिर जानु पर्ने बाध्यता रहेको उनले बताए । उच्च र उच्चमध्यम वर्गका मानिसहरू मात्र होइन सीमावर्ती क्षेत्रका विपन्न नागरिक पनि उपचारको लागि बाहिर जाने गरेको पोखरेलले सुनाए ।

तथापि नेपालमा आँखाको उपचारका लागि विदेशका मानिसहरू पनि आउने गरेका उनको भनाइ छ । चिकित्सा क्षेत्रमा सामर्थ्य वृद्धि गर्ने हो भने नेपालमा उपचारको लागि देश बाहिरका मानिसहरू पनि आउने पोखरेलले बताए । नेपाललाई अध्ययन र स्वास्थ्य उपचारको हिसाबले समेत पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावना रहेको पोखरेलको धारणा थियो ।