३ श्रावण २०८३, आइतबार

एमाले सरकारमा गएपछि विकास र समृद्धिको काम अघि बढ्यो : राजन भट्टराई

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले एमाले सरकामा रहँदा वा नरहँदाको भिन्नता नागरिकले अनुभूति गरेका बताएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ वाग्मती प्रदेश कमिटीको बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै एमाले वाग्मती प्रदेश इञ्चार्ज समेत रहनुभएका भट्टराईले एमाले सरकारमा गएपछि देशमा विकास र समृद्धिको काम अघि बढेको बताएका हुन् ।

संविधान निर्माणका काम होस् वा पूर्वाधार निर्माण र सामाजिक विकासका काममा एमालेले नेतृत्वकारी भूमिका निर्वाह गर्दै आएको भट्टराईले दाबी गरे । नेपालमा राजनीतिक परिवर्तन भइसकेकोले अब आर्थिक विकासको क्षेत्रमा काम गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् । ‘अबको विकास आर्थिक विकासको हो, भौतिक पूर्वाधार विकासको हो’, उनले भने ।

भट्टराईले सुशासनको मामिलामा नेकपा एमाले पहिलो पार्टी भएको बताए । भ्रष्टाचारको मुद्दामा कुन कुन पार्टीका कुन तहका नेताहरू जेल परे भन्ने कुरालाई हेर्दा पनि एमाले कस्तो पार्टी हो भन्ने कुरा सहजै देख्न सकिने उनले स्पष्ट पारे । नयाँ भनिएको पार्टीका दुईरदुई पटक गृह मन्त्री भएका पार्टी सभापति रवि लामिछानेले कति पटक कतिवटा मुद्दा खेपिरहेका छन् भन्ने कुरा दुनियाँको सामु रहेको उनको भनाइ छ । ‘नेकपा एमालेका नेताले यति खराब काम गरेका थिए भने उनीहरूले के बाँकी राख्थे’, उनले प्रश्न गरे ।

यति बेला नेकपा एमालेका विरुद्ध विभिन्न खालका झूटा प्रचार भइरहेका बताउँदै उनले त्यसलाई चिर्न सिङ्गो पार्टी पंति लाग्नु पर्नेमा जोड दिए । झुटो प्रचारका विरुद्ध पर्दाफास अभियान सञ्चालन गर्नुपर्ने उनको धारणा छ ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ वाग्मती प्रदेश कमिटीका अध्यक्ष वासु श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा, नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपाध्यक्ष दावादोर्जे लामा, उपसचिव भक्तकुमारी लामा, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका देवराज राई लगायतको सहभागिता रहेको थियो ।