२७ असार २०८३, शनिबार

चौदण्डीगढी मेयर कप : वडा नम्बर ३ को विजयी सुरुवात

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अन्जनी कुमार अधिकारी

उदयपुर, ७ माघ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा छैठौं संस्करणको मेयर कप फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । उद्घाटन खेलमा वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर ३ ले विजयी सुरुवात गरेको छ ।

नगरको वडा नम्बर ६ स्थित कालिका माविको खेल मैदानमा भएको खेलमा वडा नम्बर ९ लाई टाइब्रेकरमा ४–३ गोलमा पराजित गर्दै वडा नम्बर ३ विजयी भएको हो । निर्धारित समयमा एकएक गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।

खेलको तेस्रो मिनेटमा वडा नम्बर ९ का सुशन पौडेलले सुरुवाती गोल गरेका थिए । वडा नम्बर ३ का नितन राईले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको पहिलो हाफ एकएक गोलको बराबरीमा सकिएको थियो भने खेलको दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा वडा नम्बर ९ ले ३ गोल गर्दा वडा नम्बर ३ ले ४ गोल गरेको थियो । आजको खेलमा म्यान अफ दी म्याच वडा नम्बर ३ का गोल रक्षक किरण राई भएका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै मेयर कालुमान लामाले नगरपालिका खेल र खेलाडीको स्तरवृद्धिका लागि सधै तत्पर रहेको बताए । उद्घाटन समारोहमा वडा नम्बर ६ का अध्यक्ष अम्बरबहादुर खड्काले शुभकामना मन्तव्य राखेका थिए ।

यस वर्षबाट नगर खेलकुद विकास समितिले प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने खेलाडीहरुको छनोट गरी दशौं संस्करणको नारदमुनी गोल्डकप फुटबल प्रतियोगितामा बसाहा क्लबका तर्फबाट खेल खेलाउने अवसर प्रदान गराउने गरी प्रतियोगिताको सुरुवात गरिएको छ । नारदमुनी गोल्डकप उदयपुर जिल्लाकै प्रतिष्ठित गोल्डकप हो । यस वर्षको दशौं संस्करणको नारदमुनी गोल्डकप यही माघ १५ गतेबाट सञ्चालन हुँदैछ ।