
काठमाडौँ, ७ माघ नेपालले मलेसियाका जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा दोस्रो हार खेपेको छ । समूह ‘डी’ अन्तर्गत मलेसियाको युकेएम ओभल मैदानमा सोमबार भएको दोस्रो खेलमा नेपालले स्कटल्यान्डसँग एक विकेटले पराजित भयो ।
स्कटल्यान्ड लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन, ग्रवियल फन्टेलाले अविजित १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् भने बलिङमा नेपालका रचना चौधरी र सिमाना केसीले दुई तथा पुजा महतो र कृष्मा गुरुङले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८।५ ओभरमा सबै विकेटको क्षतिमा ७३ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाएका थिए । यस्तै सावित्री धामीले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
नेपालको ब्याटिङ कमजोर बनाउन बलिङमा स्कटल्यान्डकी मैसि म्याकिरा एक्लैले पाँच विकेट लिएका थिए भने अमि बलडाइ र नइमा शेखले दुई दुई तथा क्रिस्टी म्यायाकोलले एक विकेट लिएका हुन् ।
नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ । जितका लागि नेपालले दिएको ७४ रनको लक्ष्य १८।४ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो ।








प्रतिक्रिया