
काठमाडौं, ४ माघ। हिमाली जिल्ला हुम्लाबाट एक करोडको स्याउ जिल्ला बाहिर निकासी भएको छ । खार्पुनाथ गाउँपालिका– ५ को खार्पुसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएसँगै सो मूल्य बराबरको स्याउ जिल्ला बाहिर निकासी भएको हो ।
स्याउ जोन परियोजनाले हालसम्म तीन हजार ३६६ कार्टुन स्याउ जिल्ला बाहिर निकासीका लागि ढुवानीमा अनुदान दिएको परियोजनाका नायब सुब्बा लक्ष्मीप्रसाद अधिकारीले बताएका छन् । एउटा कार्टुनमा १४ केजी स्याउ अट्ने गर्छ । परियोजनाले ४७ हजार १२४ केजी स्याउ निकासीमा अनुदान दिएको छ ।
यस वर्ष परियोजनाको ५० प्रतिशत ढुवानीमा अनुदान दिएर पैदल मार्गबाट स्याउ ढुवानी गर्ने कार्य सुरु भएको हो । यसका लागि नौ लाख बजेट परियोजनाले खर्च गरेको छ । परियोजनाले जिल्ला दर रेट अनुसार प्रतिकेजी स्याउमा ५० प्रतिशत अनुदानको व्यवस्था दिनेछ । जिल्लाबाट सुर्खेत र नेपालगन्जसम्म निकासी भएको स्याउलाई ढुवानी अनुदान दिने गरिएको छ ।
त्यसैगरी स्याउका दाना प्याक गर्नका लागि ८५ प्रतिशत अनुदानमा कार्टुन पनि किसानलाई उपलब्ध गराइएको छ । जसमा एउटा कार्टुनको मूल्य किसानले ३५ रुपियाँ तिरेका थिए । जिल्लामा उत्पादन भएको स्याउको बजारीकरणका लागि परियोजनाले ढुवानीमा अनुदानको व्यवस्था गरेको हो । कच्ची सडक र गुणस्तरीय रुपमा प्याकिङ गर्न नसकिएका कारण स्याउ निकासी गर्ने किसानहरुले भने समस्या झेल्नु परिरहेको छ ।








प्रतिक्रिया