२८ असार २०८३, आइतबार

अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी-२० क्रिकेट प्रतियोगिता हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ। नेपाल विद्यार्थी सङ्घ, केन्द्रीय समितिद्धारा यही माघ ७ गतेदेखि अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘विश्वव्यापी उष्णता र जलवायु परिवर्तन’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो ।

सङ्घका अध्यक्ष डोजाङ शेर्पाले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको पुरस्कार राशि ३० लाख रुपियाँ रहेको र विजेता टिमलाई सगरमाथा क्षेत्रमा अवस्थित प्रसिद्ध एभेरेस्ट भ्यू होटलमा विश्वव्यापी ऊष्णता र जलवायु परिवर्तनसम्बन्धी संगोष्ठीमा सहभागी हुने विशेष अवसर प्रदान गरिने जानकारी गराए । प्रतियोगिताको ब्रान्ड एम्बेसडरका विश्व कीर्तिमानी कान्छा पर्वतारोही १८ वर्षीय निमा रिन्जी शेर्पा चयन गरिएको समेत बताएका छन् ।

प्रतियोगितामा नेपालका चार विश्वविद्यालय (त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्याल, मध्यपश्चिम विश्वविद्यालय) सहभागी रहेका छन् । साथै छिमेकी राष्ट्रहरू (बङ्गलादेशबाट एक, ढाका विश्वविद्यालय र भारतबाट तीन, बाबासाहेब भीमराव अंबेडकर विहार विश्वविद्यालय, लखनउ विश्वविद्यालय, दिल्ली विश्वविद्यालय) गरी कुल आठ विश्वविद्यालय सहभागी हुनेछन् ।

अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय ‘जय नेपाल कप’ टि २० क्रिकेट प्रतियोगितामा सहभागी विश्वविद्यालयको प्रतिनिधित्व गर्ने टिमहरूलाई दुई समूहमा विभाजन गरिने छ । यो प्रतियोगिता ९ दिनसम्म चल्नेछ । यस प्रतियोगितामा सहभागी टिमले उक्त प्रतियोगिताको ढाँचा अनुसार खेल्नुपर्नेछ ।प्रतियोगिता त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा हुनेछ भने सङ्घका केन्द्रीय सदस्य दीपकराज जोशीको संयोजकत्वमा विश्वविद्यालय परिसरमा

‘विश्वव्यापी उष्णता, लागू औषध दुर्व्यसनी नियन्त्रण, पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तन’ शीर्षकमा महाकवि साहित्य उत्सव आयोजना गरिएको छ । ‘एक रन एक वृक्ष’ को नीति अवलम्बन गर्दै प्रतियोगिताको कुल रन सङ्ख्या बराबरको वृक्षरोपण कार्यक्रम गरिने जानकारी पनि अध्यक्ष शेर्पाले दिनुभयो । प्रतियोगिता अवलोकनका लागि प्रतियोगिता स्थलका प्रवेशद्वार टिकटको मूल्य १०० र ५०० निर्धारण गरिएको छ भने विद्यार्थीको हकमा ५० निर्धारण गरिएको छ ।

यस प्रतियोगिताका माध्यमबाट विश्वव्यापी उष्णता र जलवायु परिवर्तन न्यूनीकरणका विषयमा सचेतनामूलक रचनात्मक कार्यक्रम संयोजन गर्ने जिम्मेवारी सङ्घका केन्द्रीय सदस्य रुपेश पौडेललाई दिइएको छ । प्रतियोगिताको टिकटबाट सङ्कलन हुने रकम जाजरकोट जिल्लामा भूकम्पबाट क्षति पुगेको विद्यालय पुनः निर्माणका लागि सहयोग गरिने आयोजनकले बताएका छन् ।