३० असार २०८३, मंगलबार

चौदण्डीगढी मेयर कप फुटबल माघ ७ देखि

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अन्जनी कुमार अधिकारी

उदयपुर, ३ माघ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा छैठौं संस्करणको चौदण्डीगढी मेयर कप फुटबल प्रतियोगिता यही माघ ७ गतेदेखि सुरु हुने भएको छ ।

बिहीबार चौदण्डीगढी नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा नगरका नौ वटा वडाले सहभागिता जनाउने नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले जानकारी दिए । प्रतियोगितामा वडा नम्बर १ भने सहभागि नहुने आयोजकले बताएको छ ।

प्रतियोगिता माघ ७ गते सुरु भएर माघ १२ गते सम्पन्न हुनेछ । छैठौं संस्करणको मेयर फुटबल प्रतियोगिता नगरको वडा नम्बर ६ स्थित कालिका माध्यामिक विद्यालयको फिल्डमा हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दोस्रो हुने टोलीलाई नगद ३५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

बिहिबार पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा हरेक दिन म्यान अफ दि म्याच घोषणा गरिनेछ भने प्रतियोगिताका हरेक विधाका उत्कृष्ट खेलाडीलाई नगद, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ ।

आयोजक चौदण्डीगढी नगर खेलकुद विकास समितिले प्रतियोगिताको टाइसिटका लागि पत्रकार सम्मेलनमै गोला प्रथाद्वारा कुन वडा को सँग खेल्ने टुंगो लगाएको थियो । जसअनुसार माघ ७ गते उद्घाटन खेलमा वडा नम्बर ९ ले वडा नम्बर ३ को सामना गर्नेछ । प्रतियोगितामा साविक विजेता वडा नम्बर ६ ले वडा नम्बर १० को सामना गर्ने छ भने वडा नम्बर ४ बाईमा परेको छ । वडा नम्बर २ ले वडा नम्बर ५ को सामना गर्दा वडा नम्बर ७ ले वडा नम्बर ८ को सामना गर्नेछ ।

यस वर्षबाट नगर खेलकुद विकास समितिले प्रतियोगितामा उत्कृष्ट खेल खेल्न खेलाडीहरुको छनोट गरी दशौं संस्करणको नारदमुनी गोल्डकप फुटबल प्रतियोगितामा बसाहा क्लबका तर्फबाट खेल खेलाउने अवसर प्रदान गराउनेछ । यसका लागि उत्कृष्ट खेलाडी छनोट गर्ने एउटा समिति गठन गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष मगरले बताए ।

नारदमुनी गोल्डकप उदयपुर जिल्लाकै प्रतिष्ठित गोल्डकप हो । यस वर्षको दशौं संस्करणको नारदमुनी गोल्डकप यही माघ १५ गतेबाट सञ्चालन हुँदैछ ।

छैठौं संस्करणको चौदण्डीगढी मेयर फुटबल प्रतियोगिता छनोट भएका उत्कृष्ट खेलाडीलाई छनोट गरी माघ १३ गतेदेखि नै क्लोज क्याम्पमा राखिनेछ ।