३१ जेष्ठ २०८३, आइतबार

सातौं संस्करणको बागमती गोल्डकप फागुन १ गतेबाट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २९ पुस । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुन १ गतेदेखि सुरु हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता बागमती–४ झुरझुरेस्थित पालिकाको लगानीमा निर्मित सहिद स्मृति रंगशालामा हुने आयोजकले जनाएको छ । यसअघिका संस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो ।

प्रतियोगितामा प्रथम टिमले नगद १० लाख र दोस्रो हुने टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङले बताए ।

प्रतियोगितामा ए डिभिजन ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने बताइएको छ । फागुन १ गतेदेखि १० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितामा ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई दश हजार रुपैयाँसहित प्रदान गरिने खेलकुद विकाससमिति सदस्य सचिव प्रमोद राईले बताए ।

फुटबल खेलको प्रवद्धनका लागि लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सञ्चालनमा ल्याउने तयारी गरेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।

अध्यक्ष घलानले व्यवसायिक खेलाडी उत्पादन गर्नको लागि पालिकाले विगतका वर्षदेखि प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्दै आएको स्पष्ट पारे । यसअघिको छैटौं संस्करणको उपाधि मछेन्द्र युथ क्लब काठमाडौंले जितेको थियो । प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाको ३० लाख सहयोग रहेको छ ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर घर्ती, लेखा अधिकृत झम्क नारायण घलान, मकवानपुर जिल्ला फुटबल संघ कार्यवाहक अध्यक्ष अरुण बल, वडा अध्यक्षहरु, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।