
भैरहवा, २६ पुस । १०औं साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधि बुटवल कालिका क्याम्पसले हात पारेको छ ।
शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्यारामाउण्ट कलेजलाई २२ रनले पराजित गर्दै कालिकाले उपाधि जित्न सफल भएको हो ।
उपाधिसँगै कालिकाले नगद ५५ हजार रुपैयाँ, ट्रफी, मेडर र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको प्यारामाउण्टले २५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
फाइनलमा टस जितेर ब्याटिङ गरेको बुटवल कालिकाले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै १ सय १७ रन बनायो । कालिकाका लागि प्रज्वल थापा र गगन अधिकारीले समान ३२–३२, रन्जित खड्काले १७ र सम्राट भुसालले नटआउट १७ रनको योगदान गरे ।
बलिङमा प्यारामाउण्टका शिव कुँवर, आशुतोष पाण्डे र सन्देश थापाले समान १–१ विकेट लिए ।
११८ रनको लक्ष्यसहित ब्याटिङ गरेको प्यारामाउण्टको सुरुवात भने खराब रहन पुग्यो । पहिलो २ ओभरमा उसका दुई खेलाडी ऋषभ बेल्बासे र सन्देश पन्थी २–२ रन बनाएर आउट भए । प्यारामाउण्टले १८ ओभर ३ बलमा ९५ रन बनाउँदा अलआउट भयो र उपाधि जित्नबाट चुक्यो । प्यारामाउण्टका लागि सन्देश थापाले सर्वाधिक ३३ रन बनाउँदा तुलबहादुर थापाले १६ रन बनाए । अमन बोहराले १० रन बनाए ।
त्यसैगरी, बलिङमा बुटवल कालिकाका प्रज्वल थापाले ३, विपिन भट्टराई र अभिशेष गौतमले समान २–२ तथा विवश खाती र कमल जैशीले एक–एक विकेट लिए । प्रज्वल थापा म्यान अफ द फाइनल भई एक हजार रुपैयाँ पाए ।
कालिकाका प्रज्वल उत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याट्सम्यान समेत घोषित भई थप १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । बुटवल कालिकाकै अभिशेष गौतम उत्कृष्ट बलर घोषित भई ५ हजार रुपैयाँ प्राप्त गरे ।
रुपन्देही लीलाराम न्यौपाने उच्च मावि अनुशासित टिम घोषित भई सम्मानित भयो ।
विजेता र उपविजेता टिमलाई निर्वतमान सांसद प्रमोदकुमार यादव, सिद्धार्थ नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, संघका कार्यवाहक अध्यक्ष धिरज अधिकारी क्षेत्री, प्याब्सन केन्द्रिय उपाध्यक्ष विष्णु पन्थी, साई ग्लोबल कलेजका प्रबन्ध निर्देशक दिनेशमान अमात्य, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यलगायतले पुरस्कार वितरण गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र भैरहवाको साई ग्लोबल कलेजको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा जिल्लाका ३२ कलेजको सहभागिता रहेको खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।








प्रतिक्रिया