११ असार २०८३, बिहिबार

बाबुरामको नजरमा ओली ‘अलि बढी खुला’, प्रचण्ड ‘कुटील र छद्‌म’

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अलि बढी खुला र प्रष्ट रहेको बताएका छन् ।

भट्टराईले हालै सम्पन्न एमाले र नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकको तुलनात्मक विश्लेषण गर्दै ओलीको नेतृत्व शैली अलि बढी खुला र प्रष्ट रहेको टिप्पणी गरेका हुन् ।

यसैगरी, भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सदा झैँ कुटिल र छद्म रहेको टिप्पणी गरे ।

बुधबार समाजिक सञ्जालमा लेख्दै भट्टराईले आफ्नो विश्लेषणमा नेपालको जटिल भूराजनीतिक अवस्थालाई रूससँग तुलना गरेका हुन् । उनले ब्रेज्नेभ कालीन रूसी कम्युनिस्ट पार्टीको सन्दर्भमा वर्तमान नेपाली कम्युनिस्ट पार्टीहरूको प्रवृत्तिको विश्लेषण गरेका हुन् । यस क्रममा उनले ओलीको नेतृत्व शैलीलाई प्रचण्डको तुलनामा बढी पारदर्शी र स्पष्ट भएको उल्लेख गरे ।

‘ओली र प्रचण्डका ‘कम्युनिष्ट’ पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो – बाहिरी रूप ‘समाजवादी’ भित्री सार ‘नोकरशाही पुँजीवादी’! भट्टराईले लेखेका छन्, ‘बरू ओली अलि बढी खुला र प्रष्ट ! प्रचण्ड सदा झैँ कुटील र छद्म ! खासगरी नेपालको जटील भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजीको प्रयोगमा ! बाघ भर्सेस ब्वाँसो ? नेपाल र रूसको नियति फरक होला ?’

एमालेको हालैको केन्द्रीय कमिटी बैठकले पार्टीको भविष्य योजना स्पष्ट पारेको छ । एमालेले विशेषगरी मिसन-२०८४ को लक्ष्य अघि सारेको छ । जसमा समाजवादको स्थापना र राष्ट्रिय शक्ति निर्माणमा जोड दिइएको छ ।