१५ असार २०८३, सोमबार

पार्टीभित्र कुनै पूर्व समूहहरु छैनन्, सबै एमाले हुन् : अध्यक्ष ओली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) ले केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्व समूहहरु कायम नरहेको र सबै साथीहरु वर्तमान एमालेंको भरभराउँदो पङ्ति भएको बताएका छन् ।

एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्व माले, पूर्व माओवादी वा १० बुँदेजस्ता समूहहरु कायम नरहेकाले त्यस्ता पूर्व समूहहरु खोज्नतिर नलाग्न आग्रह गरेका हुन् ।

“एमालेमा अब कुनै पनि पूर्व समूहरु छैन । हामीले पूर्व समूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ ।’’, अध्यक्ष ओलीले भने, “हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो । हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुुपर्छ ।’’

अध्यक्ष ओलीले विगतमा एकीकृत पार्टीलाई विभाजित गर्न पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरु लागेको उल्लेख गर्दै आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता अस्वीकार्य नहुने स्पष्ट पारे ।

उनले मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र काँग्रेससहितको वर्तमान सरकारको तर्फबाट गर्नपर्ने कामहरु सक्दो गर्दै जाने विश्वास दिलाउँदै आफूहरु चुनावदेखि चुनावसम्मको केवल सत्ता–यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको बताए । अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताहरुलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका राम्रा कामको व्यापक प्रचार गर्न पनि आव्हान गरेका छन् ।

प्रधानमन्त्री ओलीले असम्लग्न परराष्ट्र नीति र सन्तुुलित छिमेक सम्बन्धको नीतिमा सदैव स्पष्ट रहेको स्मरण गराउँदै छिमेकीका विकासबाट नेपालले लाभ लिने धारणा राखे । उनले नेपालको राजनीतिक नक्सामा सामेल भएको नेपाली भूमि फिर्ता गराएर छाडिने अठोट पनि व्यक्त गरे । यही पुस २१ गतेदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठक राजनीतिक प्रतिवेदन र सङ्गठन सुधारका योजना तथा समसामयिक प्रस्तावहरु पारित गर्दै आज सकिएको हो ।