
-अन्जनी कुमार अधिकारी
उदयपुर, २१ पुस । नेपाली सेनाले ऐतिहासिक उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पदयात्रा आरम्भ गरेको छ । ऐतिहासिक गढी, किल्लाको संरक्षण र सम्वर्द्वन गर्ने उद्देश्यले उदयपुरको बोक्सेस्थित पशुपति प्रसाद गणको पिपलटार व्यारेकको आयोजना आज आईतबार एक समारोह विच उदयपुरगढीबाट पदयात्रा सुरु गरिएको हो ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाले पुस २१ देखि २७ गतेसम्म एतिहासिक स्थल उदयपुरगढीदेखि अर्को एतिहासिकस्थल चौदण्डीगढीसम्मको ९१ किलोमिटर महाभारत पदयात्रा सुरु गरेको हो । उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानवहादुर केप्छाकी मगर र नेपाली सेना १८ नम्बर बाहिनीपति सहायक रथी गौरव गुरुङले पदयात्रामा संलग्न टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नु भएको थियो ।
ऐतिहासिक महत्वपूर्ण गढीको संरक्षण र सम्वद्र्धनका लागि जनचेतना जगाउने उद्धेश्यले नेपाली सेनाले पदयात्रा आयोजना गरेको पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी शिव प्रसाद वाग्लेले जानकारी दिए । गणपति वाग्लेका अनुसार पदयात्राको माध्यमबाट जनचेतना जगाउने र उदयपुरगढी र चौदण्डीगढीको ऐतिहासिक पुरातात्विक वस्तु संरक्षण र गढीको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने छ ।
‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार र सर्बसाधारणहरुको सहभागिता रहने छ । यसले पर्यटन प्रवर्धनसमेत हुनेछ’ गणपति वाग्लेले भने ‘पदयात्रा साथै विद्यालय स्तरमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको बारेमा हाजिरी जवाफ, वत्तृत्वकला, निबन्ध लेखन र कविता वाचन प्रतियोगिता संचालन हुने छ ।’
इतिहास संरक्षण तथा प्रवद्र्धन सम्बन्धी विषयबस्तुमा पालिकाहरुमा उदयपुरगढी गाउँपालिकाको पंचावती माध्यमिक विद्यालयमा अन्तर माध्यमिक तह स्तरीय हाजिरीजवाफ, रौतामाई गाउँपालिकाको रौता जनता मावि बोलुङखामा निवन्धलेखन प्रतियोगिता, त्रियुगा नगरपालिकाले त्रियुगा नगरपालिका स्थित गाईघाटमा कक्षा ११ र १२ स्तरीय वक्तृत्वकला प्रतियोगिता र चौदण्डीगढी नगरपालिकाले कविता वाचन प्रतियोगिता सञ्चालन गर्ने छन् ।
पदयात्राको क्रममा बाटोमा पर्ने गाउँबस्ती र विद्यालयहरुमा भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्दै जाने जानकारी दिइएको छ । यात्रापुरा हुँदा उदयपुरगढी, रौतामाई, त्रियुगा र चौदण्डीगढी गरी चार पालिकाको भ्रमण हुनेछ । कार्यक्रमका लागि पालिका अध्यक्षहरु, गणपती, होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष, जिल्ला साइकल संघका अध्यक्ष र नेपाल पत्रकार महासंघ उदयपुरको अध्यक्षसहितको समिति बनेको छ ।
यात्राको पहिलोदिन उदयपुरगढीमा उद्घाटन गरी डुम्रेमा बास बस्ने, दोस्रो दिन सोही पालिकाको ढुङ्ग्रे (भिरगाउँ)मा बास बस्ने छ । तेस्रोदिन रौतामाईको पुवारे भञ्ज्याङमा एकरात बसेर चौथोदिन रौता पोखरीमा बस्नेछ । त्यसैगरी पाँचौदिन त्रियुगा नगरपालिकाको निपानेमा बास बस्ने छ र छैटौ दिन चौदण्डीगढीको सिम्लेमा र सातौदिन विरेन्द्रबजार हुदै चौदण्डीगढीमा पुगेर कार्यक्रम समापन गर्ने रहेको छ । यात्रा तालिका अनुसार दैनिक पाँचदेखि पन्ध्र किलोमिटरसम्म दुरी पार गरिने रहेको छ ।
समापन समारोहमा पालिकास्तरमा भएका विद्यालय स्तरीय प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण, यात्राको समितिक्षा तथा सहभागिलाई सम्मान, मायाको चिनो वितरण लगायतका कार्यक्रम गरिने पशुपति प्रसाद गण बोक्सेले जनाएको छ ।









प्रतिक्रिया