३० असार २०८३, मंगलबार

अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनशिपको उपाधि नेपाललाई

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महाराष्ट्र, १५ पुस । भारतको महाराष्ट्र प्रदेशस्थित पुणे शहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनशिपको उपाधि नेपालले हात पारेको छ ।

भारतको पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगिताअन्तर्गत नेपालले विभिन्न उमेर र तौल समूहका गरी १७ स्वर्ण पदक जितेर उपाधि हासिल गर्न सफल भएको हो ।

यस्तै, नेपालको तर्फबाट विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरेका खेलाडीले ५ रजत र २ काश्य पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपालका खेलाडी रिमा कुमालले ६८ किलो २१ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्दा नक आउटमा भारत र श्रीलंकाका प्रतिस्पर्धीलाई हराउँदै स्वर्ण पदक हात पार्न सफल भएकी थिइन् ।

यस्तै, नेपालका खेलाडी विपिन राना ५० किलो २८ वर्ष उमेर समूहमा स्वर्ण, शाहिल गुरुङले ५५ किलो समूह, बुद्धि तामाङ, नेहा श्रीस, रजिना दर्लामी, निखिल कुमाल, दिवश आले, मोहित थापा, अमिशा पोखरेल, दिया छन्तेल, समिक्षा दर्लामी, आदित्य गुरुङ, प्रविन भट्टराई, आकृति छनत्यालले स्वर्ण पदक जित्न सफल भएका छन् ।

प्रतियोगितामा भारतले १६ स्वर्ण, २९ रजत र ६१ काश्य पदक प्राप्त गरी द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।

यस्तै, श्रीलंकाले ६ स्वर्ण ५ रजत र १५ काश्य पदक प्राप्त गरी तृतीय स्थान हासिल गरेको छ ।

यसअघि नेपालको तर्फबाट उत्कृष्ट काता प्रदर्शन गरेका १० वर्ष मुनि समूहका सिद्वार्थ रानाले स्वर्ण पदक हात पारेका थिए ।

यस्तै, उत्कृष्ट काता प्रर्दशन गरेका ६ नेपाली खेलाडीले पनि आज स्वर्ण पदक जित्न सफल भएका छन् । विजयी खेलाडीलाई प्रतियोगित आयोजक संस्थाका तर्फबाट भारतीय राष्ट्रिय कराते संघका महासचिव राजु थापाले शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए ।

भारतीय राष्ट्रिय कराते संघको आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंकालगायतका विभिन्न उमेर समूहका १ सयभन्दा बढी खेलाडी सहभागी रहेको आयोजक संस्थाका महासचिव थापाले जानकारी दिए ।

प्रतियोगितामा जापान गोजुरियो कराते डो मिसन संघ, नेपालका तर्फबाट विभिन्न तौल र उमेर समूहका १८ जना महिला तथा पुरूष खेलाडी सहभागी रहेको संस्थाका अध्यक्ष केबी रानाले बताए । नेपाली प्रतियोगी खेलाडीहरूको प्रर्दशनले च्याम्पियनशिपको उपाधि हात पार्न सफल भएको उनले बताए ।