
प्युठान, १४ पुस । प्रतिनिधिसभा सदस्य एवम् नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य सूर्य थापाले सामाजिक सञ्जालको दुरुपयोग रोक्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र प्युठान शाखाबीच आज विजुवारमा आयोजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सामाजिक सञ्जाललाई व्यवस्थित बनाउनुपर्ने र यसको दुरुपयोग रोक्न कानुन बनाउने प्रक्रिया सुरु भइसकेको बताएका हुन् ।
उनले प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रताप्रति आफ्नो पार्टी र सरकारको प्रतिबद्धता बताए । तर, स्वतन्त्रताको नाममा सामाजिक सञ्जालको दुरुपयोग भइरहेकामा चासो व्यक्त गर्दै यस्तो गतिविधि रोक्न सरकारले ठोस कदम चाल्ने उनको भनाइ छ । उनले सामाजिक सञ्जालले सूचनाको आदानप्रदान र अभिव्यक्ति स्वतन्त्रतालाई अघि बढाएको भए पनि यसलाई व्यवस्थित र जिम्मेवार बनाउन कानुन आवश्यक भएको धारणा व्यक्त गरे ।
तथ्यमा आधारित रहेर पत्रकारिता गर्नुपर्ने उल्लेख गर्दै थापाले पित पत्रकारितालाई निरुत्साहित गर्नुपर्ने आवश्यकता उनले ओैल्याए । थापाले सार्वजनिक शिक्षा, पत्रकारिता र सामाजिक सञ्जालको सन्तुलनमा जोड दिए । सार्वजनिक शिक्षा अस्तव्यस्त रहेको र यसलाई सुधार्न शिक्षकहरूले मर्यादामा रही कर्तव्य पालन गर्नुपर्ने उनको भनाइ छ । सार्वजनिक शिक्षाको सुधारले मात्रै जिल्ला र समाजको परिवर्तन सम्भव हुने उनको भनाइ थियो ।
कार्यक्रमका अन्य वक्ताहरूले प्रेसको भूमिका, सामाजिक न्याय र विकासमा योगदानबारे आफ्ना धारणा राखेका थिए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईँले मिडियालाई सामाजिक न्याय र विकासको पक्षमा उभ्याउनुपर्ने आवश्यकता औंल्याए । प्युठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले स्थानीय पत्रकारिताको सुदृढीकरणमा पत्रकार महासंघको भूमिका झनै महत्वपूर्ण रहेको बताए ।
प्युठान शाखा अध्यक्ष श्रीराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव वासुदेव गिरीले गरेका थिए ।









प्रतिक्रिया