
काठमाडौं, १४ पुस । कजाकिस्तानमा विमान दुर्घटना भएको एक सातामा अर्को विमान दुर्घटना भएको छ ।
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा २८ जनाको मृत्यु भएको हो । जेजु एयरलाइन्सको उडान २२१६ मा १८१ यात्रु सवार थिए ।
थाइल्याण्डको राजधानी बैंककबाट दक्षिण कोरिया आउँदै गरेको विमान आज दक्षिण कोरियाको जेओला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।
विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएर आगो लागेको थियो । विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए । समाजिक सञ्जालमा भाइरल भएका तस्वीर र भिडियोमा विमानबाट धुवाँ निस्किरहेको देखिन्छ ।
विमानमा सवार १७३ दक्षिण कोरियाली नागरिक हुन् भने २ थाई नागरिक रहेको बताइएको छ । दक्षिण कोरियाको उद्धार टोलीले २ जनाको जीवितै उद्धार गरेको छ । बाँकी यात्रुहरुको खोजी कार्य जारी रहेको छ । दुर्घटनास्थलमा ३२ वटा दमकल परिचालन गरिएको छ ।
यसअघि एक साताअघि अजरबैजान एयरलाइन्सको विमान कजाकिस्तानको अक्ताउ सहर नजिक दुर्घटनाग्रस्त भएको थियो । यो दुर्घटनामा विमानमा सवार ६७ जनामध्ये ३८ जनाको मृत्यु भएको थियो । यो विमान खराब मौसमका कारण विमानस्थलमा अवतरण गर्न नसकेर खाली मैदानमा अवतरण गरिएको थियो ।








प्रतिक्रिया