
खाँदबारी, १३ पुस । नेकपा (एमाले)का केन्द्रीय प्रचार विभाग प्रमुख एवम् संखुवासभाका पूर्वसांसद राजेन्द्र गौतमले योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढेको बताएका छन् ।
संखुवासभामा पत्रकार भेटघाटका क्रममा उनले विश्वविद्यालय सञ्चालनका केही कानूनी जटिलता रहेको भन्दै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढेको प्रष्ट पारे । विश्वविद्यालय सञ्चालनका लागि सबै एकमत भए पनि ऐनमा रहेको केही प्रावधानले अवरोध सिर्जना गरेको उनले उल्लेख गरे ।
नेता गौतमले भने, ‘विश्वविद्यालय ऐन अनुसार ६ महिनाभित्र भिसी नियुक्त गरिसक्नुपर्ने प्रावधान छ, तर अध्यक्ष नियुक्तिको समयमै यो म्याद सकिएको थियो ।’ यस समस्याको समाधानका लागि शिक्षा मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र कानून मन्त्रालयसँग छलफल भइरहेको र अध्यादेश वा संसदबाट ऐन संशोधन गरी समाधान खोजिने उनले स्पष्ट पारे ।
विश्वविद्यालय सञ्चालनका लागि विदेशी दाताहरू सहयोग गर्न तयार रहेको तर कानूनी जटिलताका कारण अगाडि बढ्न नसकिएको नेता गौतमको भनाइ छ ।
नेता गौतमले योगमाया विश्वविद्यालयलाई एसियाकै नमूना विश्वविद्यालय बनाउने योजना रहेको र यहाँ अध्ययनका साथै जडीबुटी र औषधि उत्पादन पनि गरिने जानकारी दिए ।
यसैगरी, नेता गौतमले अपर अरुण जलविद्युत आयोजनाको सन्दर्भमा स्थानीय प्रभावित जनताको स्वामित्व स्थापना गर्नुपर्ने धारणा राखे । उनले भने, ‘स्थानीय जनताको श्रम र पुँजीलाई एकीकृत गरी सेयर स्वामित्व स्थापना गर्ने विषयमा कानूनी स्पष्टता आवश्यक छ ।’ उनले सिंगो संखुवासभालीको ध्यान अहिले यसमा रहेको भन्दै यहाँको पुँजीलाई प्रयोग गरेर, जनताको श्रमलाई पनि पुँजीसँग जोडेर उनीहरुको सेयर स्थापित गर्नेगरी अगाडि बढ्नुपर्छ भने ।
त्यसैगरी, नेता गौतमले बरुण नदीको सन्दर्भमा यसको धार्मिक र सांस्कृतिक महत्वलाई जोड दिए । उनले बरुण नदी सबै धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेको भन्दै यसको सौन्दर्यता जोगाउन आवश्यक रहेको उल्लेख गरे । स्थानीय पालिकाको माग अनुसार पनि बरुणमा कुनै पनि आयोजना सञ्चालन नगरी यसलाई धार्मिक आस्था र विश्वासको केन्द्रको रूपमा विकास गर्नुपर्नेमा नेता गौतमको जोड छ ।








प्रतिक्रिया