२७ जेष्ठ २०८३, बुधबार

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षको उमेरमा निधन भएको छ । पूर्वन्यायाधीश वस्तीका साइलो भाई अधिवक्ता गजेन्द्र वस्तीकाअनुसार उनको हृदयघातका कारण शुक्रबार बेलुका ६ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

वस्तीका छोरा डा प्रणव वस्ती अमेरिकामा रहेको र भोलि बिहानसम्म आइसकेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ । वस्तीको शव अस्पतालमै राखिएको छ । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

पूर्वन्यायाधीश वस्तीले करिब छ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम गरेका थिए । उनले २०६५ साल भदौ २२ गते नियुक्त भएर पदावधि नथपिएपछि २०७० चैत २९ मा अवकाश भएका थिए ।

सर्वोच्च अदालतबाट अवकाश भएपछि उनी छवर्ष मानवअधिकार आयोगको सदस्य भएर काम गरे । अवकाश जीवन बिताइरहेका वस्ती न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा संलग्न थिए ।

गोरखा खोपलाङमा विसं २०१० असार ८ गते जन्मिएका वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गरेका थिए । विसं २०६५ सालमा वरिष्ठ अधिवक्ता भएका उनको भ्रष्टाचार नियन्त्रण, देवानी कानुन एवं कानुनी प्रणालीको विकासक्रमका विषयमा रुचि थियो । उनले लेखेका धेरै पुस्तक बजारमा छन् ।