
-अन्जनी कुमार अधिकारी
उदयपुर, १२ पुस । उदयपुरको बेलका नगरपालिकामा रोजगार सहायक पदमा सेवा करारमा पदपूर्तिका लागि आह्वान गरिएको विज्ञापनको परीक्षामा सामेल नै नभएका व्यक्तिलाई पालिकाका कर्मचारीले हाजिर गरेको तथ्य बाहिरिएको छ ।
गत कार्तिकमा बेलका नगरपालिकाले स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायकको पदपूर्ति सम्बन्धी मापदण्ड, २०७८ को दफा ६ बमोजिम रोजगार सहायकको पदमा सेवा करारमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको थियो ।
बिज्ञापन अनुसार पुस ७ गते सेवा सम्बन्धि परीक्षामा ९ र प्रयोगात्मक परीक्षामा ८ जना सहभागी भएका थिए । उनीहरुलाई लिखित र प्रयोगात्मक (कम्युटर) परिक्षा लिएको थियो । परिक्षा पछि पुस ७ गते नै दिव्यराज अधिकारी बेलका २ उदयपुरलाई सिफारिस गरिएको र रक्षिता पोखरेल बेलका १ उदयपुर अनि सबिना राई बेलका ५ उदयपुरलाई बैकल्पिक उम्मेदवारका रुपमा परिक्षा समितिले सिफारिस गरिएको थियो । करार नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारलाई समितिले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न भनेको थियो ।
पुस ९ गते बिहान नगरपालिकामा विज्ञापनको कुनै प्रकृयामा सहभागी नै नभएका बेलका २ ठेगाना भएका, नाम समेत दिव्यराज अधिकारीनै रहेका ब्यक्ति आफूले परिक्षा पास गरेको भन्दै नियुक्ति लिन आएको र उनलाई बेलका नगरपालिकाको प्रशासन शाखाले हाजिर समेत गराएको नगरपालिकाका सुचना अधिकारी संजय रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार उनलाई हाजिर गराएर अफिसमा जान समेत भनिएको र उनी रोजगार सहायकको कार्यालयमा समेत पुगेका थिए । पछि उनी नक्कली उम्मेदवार रहेको भन्ने सुचना नगरपालिकाले पाएपछि वास्तविकता बुझ्न लिखित र प्रयोगात्मक परीक्षामा सहभागी भएर सिफारिस भएका दिव्यराज अधिकारीलाई सम्पर्क गर्दा उनले आफू बाहिर रहेको र ७ दिन भित्र नगरपालिकामा सम्पर्क गर्ने बताएपछि नगरपालिकाका कर्मचारीको लापरबाहीले परिक्षा नै नदिएका ब्यक्तिलाई हाजिर गराएको पुष्टि भएको थियो ।
रोजगार सहायकको पदमा सेवा करारमा पदपूर्तिका लागि विज्ञापन आह्वान गर्दा फारम समेत नभरेका व्यक्तिलाई कर्मचारीको लापरबाहीका कारण हाजिर गराएपछि नगरपालिकाले उक्त व्यक्तिलाई पक्राउ गरी सरकारी जालसाजी गरेकोमा कारबाही गर्न माग गर्दै प्रहरीलाई पत्र पठाएको नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले जानकारी दिए ।
उता नगरपालिकाका सूचना अधिकारी समेत रहेका प्रशासन शाखा प्रमुख संजय रेग्मीले आफुहरुको गल्ति ढाकछोप गर्दै उनलाई नागरिकता लगायतका डकुमेन्ट नहेरी हाजिर गराएको भएपनि नियुक्ति नदिएको बताए । रेग्मीले ठेगाना र नाम मिलेकै आधारमा आफूहरुले उनको निवेदन दर्ता गराएर हाजिर गरेको भएपनि नियुक्ति नदिएको बताएका हुन् ।
सूचना अधिकारी रेग्मीले नियुक्ति नलिएको व्यक्तिले हाजिर गर्दैमा केही नहुने बताउँदै नक्कली व्यक्तिलाई सरकारी जालसाजी गरेको अरोपमा पक्राउ गरि प्रहरीले आवस्यक अनुसन्धान गर्ने र थप सत्य बाहिर ल्याउने बताए । परीक्षामा सिफारिस भएका दिव्यराज अधिकारी अहिले नगरपालिकाको सम्पर्क आएर नियुक्तिका लागि निवेदन दर्ता भने गराइसकेका छन् तर नगरपालिकाले उनलाई पनि नियुक्ति दिएको छैन । अर्का नक्कली दिव्यराज अधिकारी ठेगाना पनि बेलका २ उदयपुरकै भएको भएपनि उनले प्रयोग गर्ने नागरिकता नम्बर, बुवाको नाम भने सक्कली दिव्यराजको नागरिकतासंग मिल्दैन । यसले पनि नगरपालिकाका कर्मचारीको लापरबाही प्रष्ट झल्किएको छ ।
स्थानीय एक ब्यक्तिले भने नगरका कर्मचारीले हचुवाको भरमा लापरबाही तरिकाले विज्ञापनको कुनै प्रकृयामै सामेल नभएका ब्यक्तिलाई हाजिर गराएको बताए । उनीहरुले यस कार्यले नगरपालिकाको सुशासनको अवस्था प्रष्ट हुने भन्दै यस घटनाको थप अनुसन्धान हुनु पर्ने बताउदै लापरबाही गर्ने कर्मचारीलाई समेत कारवाही गर्नु पर्ने माग गरेका छन् ।








प्रतिक्रिया