१४ असार २०८३, आइतबार

मुलुक निर्माणको लागि आत्मविश्वासको साथ अघि बढ्नुपर्छ : शंकर पोखरेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । नेकपा (एमाले) का महासचिव मुलुक निर्माणको लागि आत्मविश्वासको साथ अघि बढ्नु पर्ने बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार नवलपुरको गैँडाकोटमा विधान तथा नीति निर्माणको सन्दर्भमा आयोजना गरेको विस्तारित बैठकमा बोल्दै महासचिव पोखरेलले नेपालमा समस्या छ भन्दैमा समस्याबाट भागेर समाधान ननिस्कने बताएका हुन् । हरेक समस्यासँग लड्दै अघि बढ्नु नै बुद्धिमानी हुने उनको धारणा छ ।

पार्टीको विपक्षमा बोल्दै हिँडेको कारण भीम रावल आफ्नै कर्मले पार्टीबाट बाहिरिएका उनले बताए । बाहिरिएको मानिसलाई बाहिरिएको जानकारी पार्टीले मात्रै दिएको पोखरेलले बताए । ‘जसले एमाले सिध्याउन लागेका छन् उनीहरूलाई बडा चिन्ता लागेको छ, उनीहरूले बडा दुःख व्यक्त गरेका छन्, अनुशासन हीनता उद्देश्य प्राप्तिको लागि तगारो हुने गर्दछ’, उनले भने । अन्य नेताहरू माथिको कारबाही भनेको पार्टीमा फेरी क्रियाशील हुने आधार हो भन्ने बुझ्नु पर्ने उनको भनाइ छ । सार्वजनिक टिप्पणी के भयो भन्ने भन्दा पनि पार्टीलाई अनुशासित बनाउनको लागि यो कदम चालिएको उनले स्पष्ट पार्नुभयो ।

अधिकारको खोजी गर्ने तर आफ्नो कर्तव्य पुरा नगर्ने प्रवृत्ति बढ्दै गएको पोखरेलले बताए । अधिकार खोज्दा आफ्नो कर्तव्यको पनि ख्याल गर्नुपर्नेमा उनले जोड दिए । हिजो के भयो भनेर होइन अब के गर्ने भनेर अब देश निर्माणको दिशामा अघि बढ्नु पर्ने उनले बताए । ‘हामी सफल पनि हुनुपर्दछ, हामी उदाहरणीय पनि हुनुपर्दछ’, पोखरेलले भने ।

आज पनि पार्टी र नेतृत्व माथि नै चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको पोखरेलले बताए । काम गर्नेले नै गल्ती गर्ने बताउँदै पोखरेलले अहिले राम्रो काम गरेको कारण एमाले माथि आक्रमण र घेराबन्दी गरिएको कुरालाई बुझ्न जरुरी रहेको उनको धारणा छ ।

अस्थिरताको कारण मुलुक बरबाद भएको बताउँदै पोखरेलले प्रचण्डले भने त्यही अस्थिरतामा खेल्ने कुरालाई आफू डाइनामिक भन्ने गरेको टिप्पणी गरे । त्यही अस्थिरतालाई रोक्न कांग्रेस एमाले मिलेका उनले स्पष्ट पारे । साना साना पार्टीका कारण देशमा अस्थिरता नआओस् भनेर यसो गर्नुपरेको पोखरेलले बताए ।