
काठमाडौं, १२ पुस । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कानुनी जटिलताको कारण विकास निर्माणले गति लिन नसकेको बताएका छन् ।
शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले कानुनी जटिलताको कारण काम अघि नबढेकाले त्यसलाई संशोधन गर्ने काम वर्तमान सरकारले सुरु गरेको बताए । ‘कानुन भनेको काम गर्नको लागि सहजीकरण गर्ने विषय बन्नु पर्दछ, अवरोध गर्ने होइन’, पोखरेलले भने ।
सामान्य तरिकाबाट आजको निराशालाई चिर्न र देशको अर्थतन्त्र विकास गर्न नसकिने बताउँदै पोखरेलले यसको लागि फरक ढङ्गले काम गर्न आवश्यक रहेको बताए । राज्यको आर्थिक हिसाबले सामर्थ्य अति कमजोर भएको अवस्थामा वर्तमान सरकार बनेकोले त्यसको सुधारको काम सरकारले गरिरहेको पोखरेलले बताए । नेपालमा अहिले निश्चित व्यक्तिहरूले निराशाको खेती गरिरहेका पोखरेलले बताए । नेपालमा अस्थिरता मच्चाउन चाहने शक्तिले यस्तो काम गरिरहेको उनको भनाइ छ ।
उद्योगी व्यवसायीमा देखिएको निराशा तथा युवा पलायनको अवस्थालाई रोकी मुलुकलाई पुनः आशावादी बनाउने र आर्थिक सङ्कटबाट बाहिर निकाली राजनीतिक स्थायित्व कायम गर्नुपर्छ भन्ने आधारमा अहिले एमाले र कांग्रेस मिलेर सरकार बनाएको उनले प्रष्ट पारे । ‘दुईवटा दल मिल्नु भनेको फगत सरकार सञ्चालन गर्नु मात्र होइन’, उनले भने ।
एमाले र कांग्रेस एक अर्काका प्रतिस्पर्धी भएका बताउँदै पोखरेलले विशेष अवस्थामा मात्र दुई प्रतिस्पर्धी एक ठाउँमा उभिने बर्ताए । दुई प्रतिस्पर्धी मिलेर संयन्त्र नै बनाई उद्देश्य प्राप्तिको काममा अघि बढिसकेका उनले स्पष्ट पारे ।संविधानको सबल पक्षलाई अघि बढाउने र दुर्बल पक्षलाई सुधार गर्ने विषयमा दुई दलको सहमति रहेको उनले बताए । पहिला दुई दल बसेर छलफल गरी त्यसको पहिचान गरी अन्य राजनीतिक दल र जनस्तरमा समेत छलफल गरेर संविधान संशोधन गरिने पोखरेलले जानकारी दिए ।
दलहरू बीच सहमति नहुँदा धेरै कानुन बन्न नसकेका बताउँदै उनले यो कामलाई अघि बढाउन दुई दलको संसदीय संयन्त्र समेत बनिसकेको पोखरेलले जानकारी दिए । विधेयकहरूमा भएका विवादका विषयमा छलफल गरी साझा दृष्टिकोण बनाएर कानुन निर्माणको काम अघि बढाइने पोखरेलले बताए । ‘कुनै पनि काम समयमा सम्पन्न गर्नुपर्दछ, समयमा काम गरिएन भने त्यसको मूल्य राज्यले चुकाउनु पर्दछ भन्ने हिसाबले हामीले काम सुरु गरेका छौँ’, पोखरेलले भने ।
नेपालमा राजनीतिक दलले काम गर्ने अवसर नै नपाएका पोखरेलले बताए । १० वर्ष देश सशस्त्र द्वन्द्वमा फसेको, १० वर्ष संविधान बनाउने काममा नै अलमलिएको कारण राजनीतिक दलले संविधान निर्माण पछि जम्मा १० वर्ष मात्रै काम गर्ने अवसर पाएका पोखरेलले बताए । त्यस अवधिमा पनि देशले अस्थिरता नै झेल्नु परेको पोखरेलले सुनाए ।
नेपालको राजनीति भित्र पुष्पकमल दाहाल प्रचण्डले स्थिरताको बिउ रोप्ने काम गरेको उनको भनाइ छ । कांग्रेस र एमालेलाई उचालेर प्रचण्डले अस्थिरतामा खेल्ने काम गरेको उनले बताए । प्रचण्डले कहिले एमालेलाई बोक्ने र कहिले कांग्रेसलाई बोक्ने काम गरेपछि यो त अति भयो भनेर कांग्रेस र एमाले एक ठाउँमा उभिएका पोखरेलले प्रष्ट पारे ।
प्रचण्डकै कारण कांग्रेस र एमाले एक ठाउँमा उभिएका उनले बताए । लोकतन्त्रमा जनताले अस्वीकार गरेका राजनीतिक दलले शासन गर्ने कुरा अन्त्य गर्नुपर्छ भनेर कांग्रेस एमाले मिलेका पोखरेलले प्रष्ट पारे ।
फरक प्रसङ्गमा पोखरेलले सहकारीको पैसा गोर्खा मिडियामा लैजाने काम सुनियोजित रूपमा भएका दाबी गरे । एउटा सहकारीबाट लगेको भए कहिलेकाहीँ भुलचुकमा भन्न सकिने भए पनि ६ वटा सहकारीबाट गोर्खा मिडियामा रकम लैजाने कुरालाई सहज मान्न नसकिने उनको भनाइ छ । ‘एक ठाउँबाट पैसा लिने कुरा कहिलेकाहीँ भुलचुकमा हुन सक्दछ, तर ६/६ ठाउँबाट श्रोत जुटाउने कुरा नियोजित होइन भन्न सक्ने स्थिति देखिएन’, उनले भने ।
रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनिसकेपछि पनि चेक काटेर गोर्खा मिडियाको रकम आफ्नो खातामा ल्याउनुले यो घटनामा उनको संलग्नतालाई पुष्टि गरेको पोखरेलले बताए । रास्वपाका कार्यकर्ताले प्रतिशोध भन्ने गरेका भए पनि तथ्यले त्यस्तो नदेखाएको उनको धारणा छ । ‘जान्नेलाई छान्ने पार्टीको नेताले यस्तो गर्नुभयो भनेर कसरी भन्नु, तर गर्नुभएछ’, उनले भने ।
युवा राजनीतिमा आउनु राम्रो कुरा भए पनि रवि लामिछाने विवादित चरित्रको पात्र भएको पोखरेलले बताए । नागरिकतादेखि पासपोर्टसम्मका विवादमा मुछिएका लामिछानेका एक जना सहकर्मीले उनकै कारण देखाई आत्महत्या गर्नु, राति सुतेको ड्राइभर छतबाट खस्नु सामान्य कुरा नभएको पोखरेलको भनाइ छ ।








प्रतिक्रिया