१२ असार २०८३, शुक्रबार

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन, राष्ट्रिय शोकको घोषणा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा गएराति निधन भएको छ । उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए ।

पूर्वप्रधानमन्त्रीको निधनबारे दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)ले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । उनी उमेरसम्बन्धी स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहेका थिए ।

बिहीबार घरमा अचानक बेहोश भएका उनलाई बेलुका ८ः०६ बजे नयाँ दिल्लीको एम्सको मेडिकल इमर्जेन्सीमा ल्याइएको थियो । धेरै प्रयास गर्दा पनि बचाउन नसकेपछि राति ९ बजेर ५१ मिनेटमा उनलाई मृत घोषित गरिएको थियो ।

पूर्वप्रधानमन्त्री सिंहको निधनमा भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि देशका ठूला नेता तथा धेरै व्यक्तित्वले दुःख व्यक्त गरिरहेका छन् ।

यसैबीच, भारत सरकारले आजका लागि तय भएका सबै कार्यक्रम रद्द गरी ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।

पूर्वप्रधानमन्त्री सिंहको पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिनेछ । उनको अन्त्येष्टि शनिबार हुने बताइएको छ ।

मनमोहन सिंहको जन्म सन् १९३२ मा पञ्जाबमा भएको थियो । उनी सन् २००४ देखि २०१४ सम्म लगातार दुई कार्यकाल भारतका प्रधानमन्त्री थिए ।

अटल बिहारी वाजपेयीको नेतृत्वमा रहेको एनडीएविरुद्ध २००४ को लोकसभा चुनावमा कांग्रेसको जितपछि उनले पहिलो पटक २००४ मा प्रधानमन्त्रीको शपथ लिएका थिए ।

उनले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हालेका थिए । त्यसपछि २०१४ मा भाजपाका नरेन्द्र मोदीले उनको ठाउँ लिए ।

सिंहले ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा राज्यसभाबाट अवकाश लिएका थिए ।