
जनकपुर, ९ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि विजेता जनकपुर बोल्ट्स टिम बिहीबार जनकपुरधाम आउने भएको छ ।
जनकपुर बोल्ट्स टिम बिहीबार साँझ जनकपुरधाम आउने र शुक्रबार रजौलस्थित रामजानकी स्टेडियमबाट खेलाडीहरूको सम्मानमा नगरपरिक्रमा गरिने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु)ले जानकारी दिए ।
उनले सोही साँझ जानकी मन्दिरमा ट्रफीसमेत प्रदर्शन गरिने बताए । खेलाडीहरूको सम्मानमा बाजागाजासहितको टोली जनकपुरधाम विमानस्थल पुग्ने छ । जिल्ला क्रिकेट संघले टोलीलाई भव्य स्वागतसहित नगरपरिक्रमा गराउने जनाएको छ ।
टिमलाई स्वागत तथा सम्मान गर्न जानकी मन्दिर, राजदेवी मन्दिर, युवा क्लबहरु, प्याव्सन, एनप्याव्सन धनुषा, उद्योग वाणिज्य संघ धनुषालगायत विभिन्न संघ संस्थाले तयारी गरेको छ ।
नेपालमा पहिलो पटक आयोजना गरिएको एनपीएल प्रतियोगिताको विजेता जनकपुर बोल्ट्स टिम बनेको छ । जनकपुर बोल्ट्सले शनिबार काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा भएको एनपीएलको फाइनल खेलमा सुदूरपश्चिम टिमलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।








प्रतिक्रिया