६ श्रावण २०८३, बुधबार

एमाले नेता सूर्य थापा किन पुगे विप्लवको हेडक्वार्टर ?

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा सांसद सूर्य थापा आफ्नो गृहजिल्ला प्युठान जाने क्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा पुगे । त्यहाँ उनलाई विप्लव, प्रकाण्डसहितका नेकपाका शीर्ष नेताहरूले स्वागत गरे । थापाले उनीहरुसँगको भेटमा कम्युनिष्ट आन्दोलनको वर्तमान र भविष्यका विषयमा छलफलसमेत गरे ।

नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने तयारी रहेका विप्लवसँग एमाले नेता थापाले गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेता थापाका अनुसार विप्लवसँगको भेट पूर्वनिर्धारित थिएन । ‘भेट कुनै पूर्वनिर्धारित थिएन । म लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टीको हेडक्वार्टरका बारेमा बुझ्न चाहेका थिएँ । राजधानीबाहिर हेडक्वार्टर कसरी सञ्चालनमा छ भन्ने मेरो चासोको विषय थियो । गृहजिल्ला प्युठान जाँदै गर्दा कम्युनिष्ट पार्टीको हेडक्वार्टर पसेको हुँ’, सांसद थापाले भने, ‘उहाँहरूको बैठक चलिरहेको रहेछ । म त्यहाँ पुग्दा मलाई स्वागत गर्नु भयो र केहीबेर कुराकानी भए ।’

भेटका क्रममा नेकपाले सञ्चालन गरेको सामूहिक उत्पादन पद्दतिका बारेमा आफूले बुझ्ने मौका पाएको थापाले बताए । विप्लवसँगको भेटमा नेता थापाले नेकपाको सामूहिक उत्पादन प्रणालीबाट अन्य कम्युनिष्ट पार्टीहरूले सिक्नुपर्ने उल्लेख गरेका थिए ।

यसैगरी, महासचिव विप्लवले पनि थापाको चासोमा यसले पार्टीमा उत्साहको वातावरण सिर्जना गरेको भन्दै थापालाई धन्यवाद दिएका थिए ।

केहीदिनअघि नेता थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको उत्पादनमूलक कार्यशैलीको प्रशंसा गर्दै सामाजिक सञ्जालमा एक पोष्ट लेखेका थिए । यसले राजनीतिक वृत्तमा चर्चासमेत बटुलेको छ।

नेता थापाले नेकपाको आफ्नै गार्मेन्टमा सिलाइएको पोशाक र सहकारी खेतीमा आधारित आत्मनिर्भर अर्थतन्त्रको अवधारणाको खुलेर प्रशंसा गरेका थिए ।

‘नेपाल कम्युनिस्ट पार्टी (महासचिव नेत्रविक्रम चन्द)को केन्द्रीय समितिको पछिल्लो बैठक- आफ्नै गार्मेन्टमा सिलाइएको ड्रेस कोड (सर्ट, पाइन्ट र कोर्ट)मा गरिएको दृश्य नौलो लाग्यो ! हरेक पार्टीका आ-आफ्नै प्रकारका मौलिकता, नविनता र उत्पादनकेन्द्रित प्रयोगर परीक्षण हुँदा बेग्लै प्रकारको प्रतिस्पर्धा सिर्जना हुँदो हो कि ? आफ्नै गार्मेन्टको कपडा तथा आफ्नै सहकारी खेतीको अन्न, मासु, माछा, कुखुरामा आत्मनिर्भर भएपछि पार्टी पङ्तिको भरणपोषणका लागि सायद पछिल्लो समय चन्दामा निर्भर हुनुपरेको छैन होला । सिक्न सकिने यस्ता उदाहरण र दृष्टान्तहरू अनेकका अनेक हुनसक्छन् ! यस्ता अनुकरणीय दृष्टान्तलाई एकीकृत, पूँजीकृत र अवलम्बन गरिनु उचित हुन्छ ।’ थापाले नेकपा बैठकको तस्वीर राख्दै फेसबुकमा लेखेका थिए, ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको नेतृत्व गर्दा मैले ‘सी कोअपरेटिभ’को बारेमा सुनेपछि सो पार्टीको धारणा पनि पठाउन पत्राचार गरेको थिएँ र महासचिव चन्द स्वयं सहकारी विभागको इन्चार्ज रहेर देशव्यापी कार्यक्षेत्र रहेको बहुउद्देश्यीय सहकारी दर्ता एवं संचालनमा समेत रहेको जानकारी पाएको थिएँ । सहकारी खेती र उत्पादनकेन्द्रित कोशिस पनि त्यतिबेलै अवगत भएको थियो । पोलिटव्युर‍ो सदस्य दिनेशविक्रम चन्द र मेराबीच केही पटक भेटघाट र कुराकानी भएको थियो । आज आफ्नै गार्मेन्टको समाचार सुनेर झन् खुशी लाग्यो ।’

यसअघि कडा टिप्पणी गर्ने नेताका रुपमा चिनिँदै आएका थापाको अप्रत्याशित प्रशंसात्मक टिप्पणीले नेकपाभित्र तरंग नै ल्यायो । थापाको फेसबुक स्टाटसपछि विप्लवलेसमेत केन्द्रीय कमिटी बैठकमै थापाको चर्चा गरेका थिए ।