
काठमाडौं, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको प्रहरी हिरासतमा सुतिरहेको भनिएको एक सिसिटिभी फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको त्यस तस्वीरको वास्तविकताबारे प्रश्न उठेको छ ।
तस्वीरलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।
रास्वपाका नेता कार्यकर्ताहरूले कास्की प्रहरीले लामिछानेको गोपनीयता र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका छन् । अर्कातर्फले भने लामिछानेलाई हिरासतमा विशेष सुविधा दिइएको भन्दै आलोचना गरेका छन् ।
कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले भने त्यस फोटो नक्कली हुनसक्ने आशंका गरेका छन् । ‘एआईको जमाना छ, फोटो फेक भएको आशंका छ, त्यसैले पहिलो पटक पोष्ट गर्ने व्यक्तिको खोजी गरिरहेका छौँ ।’ उनले भने ।
भाइरल तस्वीरमा साइडको टेबलमा उर्दु भाषाको किताब देखिन्छ र लामिछानेले लगाएको टोपी मुस्लिम समुदायले प्रयोग गर्ने टोपीसँग मिल्दोजुल्दो देखिन्छ । यी तथ्यहरूका आधारमा प्रहरीले कुनै अन्य व्यक्तिको फोटोमा लामिछानेको अनुहार जोडेर बनाइएको हुनसक्ने आशंका गरेको छ ।
प्रहरीले अहिले यो फोटो सर्वप्रथम सामाजिक सञ्जालमा साझा गर्ने व्यक्तिको पहिचान गर्ने प्रयास गरिरहेको बताइएको छ ।








प्रतिक्रिया