
काठमाडौं, २० मंसिर । फ्रान्समा प्रधानमन्त्री मिशेल बार्नियरको सरकार तीन महिनामै ढलेको छ ।
बार्नियर विरुद्धको अविश्वासको प्रस्ताव संसद्ले अत्यधिक मतले पारित गरेपछि उनको सरकार ढलेको हो । ५ सय ७७ सदस्यीय संसद्मा अविश्वासको मत पारित हुन २ सय ८८ मत चाहिनेमा तीन सय ३१ मत परेको थियो ।
चरम दक्षिणपन्थी र वामपन्थी दल मिलेर बार्नियरलाई अपदस्थ गरेका हुन् । सांसदहरूले या त अविश्वासको पक्षमा मतदान गर्नुपर्ने या तटस्थ रहनु पर्ने व्यवस्था गरिएको थियो ।
प्रधानमन्त्री बार्नियरले संसदीय समर्थन विनै संविधान प्रदत्त विशेष अधिकार प्रयोग गर्दै ‘सामाजिक सुरक्षा वित्तीय योजना’ विधेयकलाई पारित गर्न खोजेपछि विपक्षी चरम दक्षिणपन्थी दल नेशनल र्याली र वामपन्थी दल न्यू पपुलर फ्रन्टले उनी विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए ।
फ्रान्समा ६२ वर्षपछि पहिलो पटक देशको सरकार अविश्वासको प्रस्तावले ढलेको हो । यससँगै बार्नियर देशको इतिहासमै सबैभन्दा कम शासन गर्ने प्रधानमन्त्री बन्ने भएका छन् ।
फ्रान्सेली संविधानअनुसार सन् २०२५ को जुलाईसम्म संसद् विघटन गर्न मिल्दैन, अर्थात् त्यसबेलासम्म फ्रान्सको राजनीतिक परिदृश्य अनिश्चित रहनेछ ।
अब राष्ट्रपति इमानुएल म्याक्रोनले नयाँ प्रधानमन्त्री नियुक्त नगरेसम्म बर्नियर कार्यवाहक प्रधानमन्त्री रहनेछन् ।









प्रतिक्रिया