
चितवन, २० मंसिर । सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवनमा बयान लिने कार्य सकिएपछि राति नै पोखरा पुर्याइएको छ ।
चितवन जिल्ला सरकारी वकील कार्यालयले मंगलबार र बुधबार दुई दिन लामिछानेको विस्तृत बयान लिएको थियो । पहिलो दिन पाँच घण्टा र दोस्रो दिन १० घण्टा गरी कुल १५ घण्टा बयान लिइएको थियो । यस अवधिमा लामिछानेलाई ७५ वटा विभिन्न प्रश्नहरू सोधिएका थिए ।
लामिछानेविरुद्ध चितवनको साहारा बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते पक्राउ पुर्जी जारी गरेको थियो । सुरुमा लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनकै हिरासतमा राख्ने योजना थियो, तर पछि उनलाई पोखरा पठाइएको हो ।
लामिछानेलाई चितवन ल्याइएपछि रास्वपाका कार्यकर्ताहरूले भरतपुरमा व्यापक प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय अगाडि भएको झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका विभिन्न व्यक्तिहरू घाइते भएका थिए ।
यसैबीच, सहकारी ठगी प्रकरणमा पर्सामा पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा पर्सा जिल्ला अदालतले लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनालाई पक्राउ अनुमति दिएको छ ।










प्रतिक्रिया