
धरान, २० मंसिर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पुनः पत्रकारहरूलाई गम्भीर धम्की दिएका छन् ।
हिजो (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आज बिहान १० बजेको पत्रकार सम्मेलनमा आउन उर्दी जारी गरेका छन् र पत्रकारलाई सार्वजनिक रूपमा बेइज्जत गर्ने चेतावनी दिएका छन् ।
साम्पाङले खोजपत्रकारिता केन्द्रका लागि समाचार लेख्ने पत्रकार गोपाल दाहाललाई लक्षित गर्दै अत्यन्त आक्रामक भाषामा धम्की दिएका छन् । उनले पत्रकार सम्मेलनमा आउने पत्रकारलाई ‘शीर ठाडो पारेर नेपालमा हिँड्न नसक्ने गरी बेइज्जत गर्ने’ चेतावनी दिएका छन् ।

पत्रकार दाहालले केहीदिनअघि खोजपत्रकारिता केन्द्रका लागि धरानका मेयर हर्क साम्पाङको मन मौजी शासन शैलीका विषयमा समाचार लेखेका थिए ।
साम्पाङले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषिलाई पनि चुनौती दिएका छन् । उनले ऋषिलाई ‘ऐना हेर्दा थुक्ने’ धम्की समेत दिएका छन् ।

यो धम्की पत्रकारिताको स्वतन्त्रतामाथि एक गम्भीर आक्रमण हो । यो घटना पत्रकारहरूमाथि सार्वजनिक रूपमा धम्की र आक्रोश व्यक्त गर्ने मेयर साम्पाङको पुनरावृत्त व्यवहार हो ।
साम्पाङले यसअघि पनि पत्रकार र मिडिया हाउसलाई पटक-पटक धम्की दिँदै आएका छन् ।












प्रतिक्रिया