६ असार २०८३, शनिबार

उपाध्यक्ष जितेपछि शेर्पाले भनिन्- सिंगो गौरीशंकरवासी र विकासप्रेमीको जित भयो

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । दोलखाको गौरीशंकर गाउँपालिकामा भएको स्थानीय तह उपनिर्वाचनबाट उपाध्यक्ष पदमा निर्वाचित एमाले उम्मेदवार उमा शेर्पाले आफ्नो जित व्यक्तिगत जित नभएर सिंगो गौरीशंकरवासी र विकासप्रेमीको जित भएको बताएकी छन् ।

उपाध्यक्ष निर्वाचित भएपछि प्रतिक्रिया दिँदै शेर्पाले मतदाता, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक, निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, सुरक्षाकर्मी, सञ्चारकर्मी सबैमा धन्यवाद दिएकी छन् ।

शेर्पाले आफ्ना प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की उम्मेदवार निमलेकी शेर्पा, नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी शेर्पा तामाङलगायत उपनिर्वाचनमा भाग लिने सम्पूर्ण राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूप्रति पनि सम्मान व्यक्त गरेकी छन् ।

निर्वाचनमा हार–जित स्वाभाविक हुने बताउँदै शेर्पाले उपनिर्वाचनमा आफूले विजयी हासिल गरेको भए पनि भोलिका दिनमा सबैको सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेकी छन् ।

‘आगामी यात्रामा गौरीशंकरवासीको हितका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, सडकलगायतका अधुरा रहेका विभिन्न विकास निर्माणका कार्यहरूमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु, जसका लागि सबैको साथ सहयोग रहने नै छ भन्ने मैले विश्वास लिएको छु’, उनले भनिन् ।

आइतबार सम्पन्न उपनिर्वाचनमा शेर्पाले २ हजार ८ सय ५ मत ल्याई उपाध्यक्षमा विजयी भएकी हुन् । गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६ सय मत पाइन् । नेपाली कांग्रेसकी पासदिकी शेर्पाले भने १ हजार ७ सय २७ मत ल्याइन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय मत पाउँदा राप्रपाले १ सय १८ र एकीकृत समाजवादी पार्टीले ९० मत ल्याएको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा यो गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । कांग्रेसबाट निर्वाचित उपाध्यक्षको निधनपछि भएको उपचुनावमा सबै पार्टीले एकल प्रतिस्पर्धा गरेका हुन् ।