९ असार २०८३, मंगलबार

भन्सार छली गरेको १५ करोड १८ लाख बराबरको सामान नियन्त्रणमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १७ मंसिर । सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ ।

पर्सा जिल्लामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले पनि भन्सार छली रोक्नका नियमित रुपमा  गस्ती, सीमा क्षेत्रमा जाँच र तालिमप्राप्त कुकुरको प्रयोग गर्दै आइरहेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साका गणपति राधेश्याम धिमालले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले पर्सा जिल्लामा भन्सार छली गरेर भित्र्याएका १५ करोड १८ लाख रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान नियन्त्रणमा लिएको जानकारी दिए ।

‘सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस, खाद्यान्न पदार्थ र किरानाका सामान पक्रिने क्रम ह्वातै बढेको छ’, उनले भने, ‘पछिल्लो समय त सीमा क्षेत्रमा तालिमप्राप्त कुकुर पनि खटाएर चेकिङलाई अझै प्रभावकारी गर्ने कोसिस गरिरहेका छौँ ।’

सशस्त्र प्रहरी बल पर्साले चालु आवको चार महिनाको अवधिमा १२ करोड ५३ लाख ८८ हजार नौ सय ३३ रुपैयाँ रकम मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हाडवेयर, मोटरपार्टस, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

त्यस्तै, सोही अवधिमा दुई करोड ६४ लाख ३० हजार एक सय ४९ रुपैयाँ मूल्य पर्ने बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । सशस्त्र प्रहरीले बरामद गरेको रेकर्ड हेर्दा सबैभन्दा धेरै लत्ताकपडा, मेसिनरी पार्टपुर्जालगायतका सामान धेरै तस्करी हुने गरेको देखाउँछ । सशस्त्र प्रहरीले सोही अवधिमा जिल्लामा १४ लाख ५१ हजार मूल्य पर्ने पाँच सय ३१ क्युफिट काठ पनि बरामद गरेर डिभिजन वन कार्यालय पर्सालाई बुझाएको छ ।

त्यस्तै, सोही अवधिमा दुई सय ३६ किलोग्राम गाँजा, १४ दशमलव ९६ किलोग्राम लागुऔषध चरेश पनि बरामद गरेको थियो । सशस्त्र प्रहरीले जिल्लामा आव २०८०/८१ मा भने ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य पर्ने बिलबिजक नभएका र भन्सार छलीका सामान बरामद गरेको थियो ।