
बाजुरा, १५ मंसिर । बाजुरामा हुने उपनिर्वाचनलाई शान्तिपूर्ण र भयरहीत बनाउन बाजुराका चार राजनीतिक दलले तीन बुँदे समझदारी गरेका छन् ।
भोलि आइतबार हुने स्वामीकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचन लक्षित चार दलका शीर्ष नेताहरुले तीन बुँदे समझदारी गरेका हुन् ।
जिल्लामा क्रियाशील राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका शीर्ष नेताहरुको साझा छलफलबाट कुनैपनि निर्वाचनमा कुनैपनि दलका तर्फबाट बल प्रयोग र जबरजस्तीका गतिविधी नहुने गरी समझदारी गरेका हुन् ।
एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको संयोजनमा आपसी समझदारी गरिएको हो । बाजुरा चुनावकै कारण बदनाम हुने गलत परिपाटीको अन्त्यका लागि तीन बुँदे लिखित समझदारी गरिएको एमाले स्थायी कमिटी सदस्य थापाले जानकारी दिएका छन् ।
बाजुरालाई हत्या, काटमार र बुथ कब्जाको जिल्लाका रुपमा जबरजस्त ट्याग लगाउने गरिएको छ ।
२०७९ सालको संघ र प्रदेशको निर्वाचन र २०७९ सालकै बुढीगंगा नगरपालिकाको स्थानीय तह निर्वाचनको सन्देश देशव्यापी गलत तरिकाले फैलिएको छ । विशेष गरी कांग्रेस-एमालेले आफू अनुकुलका बुथहरु कब्जा गर्ने, कमजोरी पक्षलाई कुटपिट गर्ने र मतदानमा खटिएका कर्मचारीलाईसमेत धम्की दिने, आक्रमण गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
विचारको बहस गर्ने समयमा पनि हिंसा र कुटपिटको शैली अपनाउने कुरा लोकतान्त्रिक, मानव अधिकार र सामाजिक न्यायको सिद्धान्त विपरित भएको निष्कर्षसहित ४ वटै दलका नेताहरुले शान्तिपूर्ण, भयरहीत र निष्पक्ष निर्वाचनका पक्षमा प्रतिवद्ध रहेको समझदारीसहित सामूहिक रुपमा लिखित प्रतिवद्धता जनाएका छन् ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भोलि उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । थिति बसाउने गरी, राजनीतिक संस्कारसहितको दलिय व्यवहार गर्न सकारात्मक सन्देशसहितको समझदारी गरिएको कांग्रेसका नेता एवं पूर्वसहायकमन्त्री जनकराज गिरीले बताएका छन् ।
दलका नेताहरुले सबै मतदातालाई मतदानमा भाग लिन सामूहिक आह्वान गरेका छन् । आफ्नो मत आफैले हाल्ने र फरक क्षमता र अशक्तको बाहेक दोस्रो व्यक्तिलाई हाल्न नदिने समझदारी गरेका छन् । मतदानमा खटिएका सुरक्षा कर्मी, कर्मचारी र सबै मतदातालाई शान्त र भयरहीत वातावरणमा मतदान गराउन राजनीतिक दलका नेताहरु जिम्मेवार हुने र आफ्ना नेता कार्यकर्तालाई जिम्मेवार र संयमित गर्ने समझदारी गरेका छन् । सबै राजनीतिक दलहरुको बीचमा समझदारी गरेर विकास निर्माणका काम गर्दै आगामी निर्वाचनमा उच्च स्तरको लोकतान्त्रिक वातावरण निर्माण गर्न दलका बीचमा समयसमयमा छलफलको आयोजना गरी उच्च राजनीतिक सँस्कति निर्माण गर्ने समझदारी गरिएको छ ।
समझदारी पत्रमा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, कांग्रेस नेता जनकराज गिरी, एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य हिक्मतबहादुर शाही, नरेशकुमार शाही, एमाले प्रदेश उपाध्यक्ष कालीबहादुर शाहीले हस्ताक्षर गरेका छन् ।
यसैगरी, माओवादी केन्द्रका प्रदेश कमिटी कोषाध्यक्ष कमलकुमारी शाह, एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली, कांग्रेसका जिल्ला सभापति रामसिंह रावल, समाजवादी पार्टीका जिल्ला अध्यक्ष पुरबहादुर रावत, माओवादीका केन्द्रीय सदस्य मनलाल खत्री, प्रदेश कमिटी सदस्य महेश शाहीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
नेताहरुले पार्टीको विचार र सिद्धान्तसँगै मानवीय व्यवहार, मताधिकार र राजनीतिक व्यवाहारलाई उच्च राखेर निर्वाचन गराउने र बाजुरालाई बदनामभन्दा विकासको जिल्लाको रुपमा परिचित गराउने कार्यमा जिम्मेवार रहने समझदारी गरिएको छ । चुनाव केन्द्रीय दलिय समझदारीले सकारात्मक सन्देश जाने विश्वास दलका नेताहरुले गरेका छन् । सझदारी पीलुचौरमा गरिएको हो ।









प्रतिक्रिया