
काठमाडौं, १५ मंसिर । बारा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ मा क्रियाशील ३० जनाभन्दा बढी विभिन्न पार्टीका स्थानीय नेताकार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य अच्यूत मैनालीलगायतका नेताहरूले आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा नवप्रवेशीहरूलाई खादा र अवीर लगाई पार्टीमा स्वागत गरेका छन् ।
एमाले प्रवेश गर्नेहरूमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)का विभिन्न कमिटीमा रहेर काम गरेका अनुभवी कार्यकर्ताहरू छन् ।

महासचिव पोखरेलले मधेशको विकास पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा भएको स्मरण गराए । अन्नभण्डारका रुपमा लिइने मधेशमा बाह्रै महिना सिंचाई हुने व्यवस्थाका लागि सुनकोशी–मरिन डाइभर्सन, अलपत्र रहेको हुलाकी सडक निर्माण, सदरमुकाम जोड्ने सडकहरू कालोपत्रे लगायत मधेशमा अहिले जे विकासका काम भएका छन्, ती नेकपा (एमाले)को सरकारका पालामा भएको बताए ।

महासचिव पोखरेलले भने, ‘देश बनाउनका लागि, मधेशको विकास गर्नका लागि एमालेलाई बलियो बनाउने अभियानमा लाग्नुपर्छ । मधेशमा आफूहरूसँगै धेरैलाई एमालेमा समेट्ने अभियानमा लाग्नुस् । एमाले प्रवेशको सन्देश मधेशव्यापी दिनुस् ।’
एमालेलाई कमजोर बनाउन माधव–झलनाथले पार्टी फुटाए पनि जनताले माया गरेर अहिलेको अवस्थामा उठाएको बताउँदै देश बनाउनका लागि साना दलको काम नभएको महासचिव पोखरेलको भनाइ छ ।

आज एमालेमा प्रवेश गर्नेहरूमा नेकपा (एकीकृत समाजवादी)बाट गत निर्वाचनमा विश्रामपुर गाउँपालिकाका प्रत्याशी मदनप्रसाद यादव, विश्रामपुर गाविसका पूर्व अध्यक्ष जवाहिर बैठा, पर्सौनी गाउँपालिका निवासी सेवानिवृत्त प्रहरी नायव निरीक्षक (डिएसपी) रामेश्वर साह, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य सुजित गुप्ता, असलम अन्सारी, लोसपाका जिल्ला सदस्य कोरान अली, चन्दन साह कानु, विनोद प्रसाद यादव, क्षेत्रीय सदस्य हजरत अली, जलन्धर पटेल, लोसपाका भूपूवडाध्यक्ष गणेश कुशवाह छन् ।
त्यसैगरी, लोसपाका पूर्वजिसस जुमरानी मिया, नेकपा एसका हृदयनारायण यादव, सुरेन्द्रप्रसाद यादव, राजकिशोर पटेल, उमेशप्रसाद यादव, रामदयाल साह कलवार, अजयसिंह राजपुत, कन्हैया ठाकुर, वृजकुमार राउत, राजकुमार चौरसिया नेपाली कांग्रेसका गाउँकमिटी सदस्य रोशन साह, रमेश साह, सलिम मिया, जनता समाजवादी पार्टी (जसपा)का जिल्ला सदस्य सञ्जय चौरसिया, माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका मुकेश यादव पनि एमालेमा प्रवेश गरेका छन् । उनीहरू बारा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने पर्सौनी, परवानीपुरका बासिन्दा हुन् ।
नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै महासचिव शंकर पोखरेलले सिंगो देश र मधेशको विकासका लागि एमालेको सरकार निर्माण हुनुपर्ने र त्यसका लागि एमालेलाई बलियो र निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए ।
नवप्रवेशीहरुलाई महासचिव पोखरेलसहित स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल र मधेश प्रदेशका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।










प्रतिक्रिया