३१ जेष्ठ २०८३, आइतबार

चीनसँग आर्थिक साझेदारी वृद्धि गर्ने कुरामा छलफल भयो : परराष्ट्रमन्त्री राणा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीन भ्रमणको क्रममा व्यापार, लागानी, आर्थिक सामाजिक साझेदारी वृद्धि गर्ने कुरामा छलफल केन्द्रीत भएको बताएकी छन् ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दुई देशको सम्बन्धलाई कसरी अगाडि बढाउने र भइरहेको कामहरुलाई कसरी निरन्तरता दिने भन्ने कुरामा धेरै छलफल भएको भन्दै त्यसमा आर्थिक साझेदारी वृद्धि गर्ने कुरा पनि आएको बताइन ।

उनले भनिन्, ‘दुई देशको सम्बन्धलाई कसरी अगाडि बढाउने र भइरहेको कामहरुलाई कसरी निरन्तरता दिने भन्ने कुरामा धेरै छलफल भयो । यसमा व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै जाने दिशातर्फ सम्बन्ध केन्द्रीत हुनुपर्छ भन्ने धारणा रहेको थियो ।’

यस्तै, उनले देशको अवस्थाको कारणले लोनहरु लिन सक्ने अवस्था नभएको कुरा पनि चीन सरकारलाई स्पष्ट रुपमा भनेको बताइन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री डा.राणा चीनको छन्दुबाट बिहान स्वदेश फर्किएकी हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुगेको उनले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । भेटवार्ता छन्दुमा नै भएको थियो ।