९ श्रावण २०८३, शनिबार

लुम्बिनी महोत्सवमा किसानलाई निःशुल्क माटो परीक्षणको सुविधा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, ११ मंसिर । कृषि क्षेत्रमा रासायनिक मलको प्रयोग बढ्दो छ । यसले माटोको उर्वराशक्तिमा ह्रास गरिरहेको छ । तर, धेरै किसानलाई यसबारे जानकारी छैन । यसबारे जानकारी गराउने र कस्तो माटोमा कुन खेती गर्दा उब्जनी बढी हुन्छ भन्ने जानकारी दिने उद्देश्यले यही मंसिर २० गतेदेखि भैरहवामा आयोजना हुने नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परीक्षण गरिने भएको छ ।

महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले कृषकहरुलाई लक्षित गरेर माटो परीक्षणको व्यवस्था मिलाउन लागेको हो । ‘रुपन्देहीको ग्रामीण क्षेत्रमा राम्रो उब्जनी हुन्छ तर निरन्तरको रासायनिक मलको प्रयोगले किसानहरुले चाहेजति मुनाफा कमाउन सकिरहेको अवस्था छैन’, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘यसैल महोत्सव स्थलमा हामीले माटो परीक्षण शिविर संचालन गर्न लागेका छौँ । यसले किसानले कस्तो माटोमा कुन किसिमको खेती गर्दा उब्जनी बढी हुन्छ भन्नेबारे जानकारी पाउनुहुनेछ । यसले उब्जनी वृद्धिमा सहयोग पुग्ने छ ।’

उनले सबै किसानको पहुँच प्रयोगशालासम्म नपुग्ने र नजिक प्रयोगशालासमेत नभएकाले धेरैले आफ्नो जमिनको माटो परीक्षण गर्न नपाएको बताए । ‘उद्योग–व्यवसाय र पर्यटनसँगै कृषि हाम्रो समृद्धिको आधार हो । ठूलो हिस्सा नेपालीहरु कृषि खेतीमा लाग्नुभएको छ ।’ उनले भने, ‘महोत्सवले कृषिको व्यवसायीकरण र आधुनिकीकरणलाई पनि जोड दिएको छ । यसका लागि माटोको उर्वराशक्ति राम्रो हुनु अत्यन्तै आवश्यक छ । यसैले माटो परीक्षण गरेर किसानलाई आफ्नो उब्जाउ भूमिको यथार्थ जानकारी गराउने कोसिस गरेका छौँ ।’

आयोजकले महोत्सवमा कृषि प्याभेलियन निर्माणको तयारी गरेका छन् । प्याभेलियनमा माटो परीक्षण हुनेछ । यससँगै कृषिको प्रदर्शनी हुने भएकाले नयाँ कृषि उद्यम गर्न चाहनेलाई सिकाई मिल्ने छ ।

यस्तै, कृषि व्यवसाय गर्न चाहनेले कस्तो माटोमा कुन खेती गर्दा उब्जनी र मुनाफा हुन्छ भन्ने बारे जानकारी पाउनेछन् ।

मंसिर २० देखि पुस १ सम्म चल्ने महोत्सवमा मंसिर २६, २७ र २८ गते तीन दिन माटो परीक्षणका लागि समयावधि तोकिएको छ । ‘महोत्सवमा नेपालगञ्जका प्राविधिकहरुको सहयोगमा माटोको निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको छ, यहाँ जुनसुकै किसानले आएर आफ्नो खेतबारीको माटो परीक्षण गर्न सक्नुहुनेछ’, संघकी सदस्य एवं कृषि व्यवस्थापन समिति संयोजक यमकला न्यौपानेले भनिन्, ‘धेरै भन्दा धेरै किसानलाई यसबाट लाभ लिन आग्रह गर्दछु ।’

यसका लागि ग्रामीण क्षेत्रका कृषकलाई लक्षित गरी विशेष स्टल राखिने मेला आयोजकले जनाएका छन् । भैरहवा तथा यस आसपास रहेका तिलोत्तमा, धकधई, मर्चवार, अमवा, लुम्बिनी, गैडहवा, कंचन, सिद्धार्थनगर लगायतका कृषकलाई लक्षित गरि मेलामै माटोको निःशुल्क परीक्षण गरिने छ । ‘माटोको परीक्षणपछि प्राविधिकहरुले कुन मौसममा कुन खेती गर्दा उपयुक्त हुन्छ, कसरी लाभ उठाउन सकिन्छ भनेरसमेत सिकाउने छन्’, न्यौपानेले भनिन्, ‘यससँगै माटोमा अम्लियपन वा अन्य जिवाणु देखिए रोकथामको उपाय समेत सिकाइने छ ।’ यसका लागि नेपालगंजबाट विज्ञसहितको टोली आउने छ ।

महोत्सवमा कृषि प्राविधिकहरुले माटोको परीक्षण गरी त्यसको उचित उपचारको विधिबारे जानकारी दिने भएकाले यसबाट कृषक लाभवान्वित हुनसक्ने संघका सचिवसमेत रहेका प्रचारप्रसार समिति संयोजक मंगल भण्डारीको जानकारी दिए ।

‘आफ्नै घर आँगनमा लाग्न लागेको महोत्सवमा आएर माटो परीक्षण गरी अधिकतम फाइदा लिन सम्पूर्ण कृषकहरुलाई हाम्रो आग्रह छ’, उनले भने, ‘नजिक, विज्ञ प्राविधिकबाट परीक्षण हुने र निःशुल्क भएकाले जतिसक्दो धेरै किसानलाई जानकारी दिनसमेत हाम्रो अनुरोध छ ।’

Skip This